काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’बारे छलफल हुने बताउनुभयो । उहाँले सो अवसरमा भारतसँग सन् १९५० को सन्धि र नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे छलफल हुने जानकारी दिए ।
प्रधानमन्त्री दाहालले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको बताएका छन् । “नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा होल्डमा बसेको थियो, खारेज र एकपटकभन्दा बढी फिर्ता गर्ने प्रावधानसमेत थिएन”, उनले भने, “विधेयक उत्पत्ति भएको मन्त्रिपरिषद्बाटै प्रमाणीकरण गर्नका लागि विगतको यथार्थ विवरणसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । मलाई विश्वास छ राष्ट्रपतिले यसको प्रमाणीकरण गर्नुहुन्छ भन्ने विश्वास छ ।”
उनले भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान गर्ने सरकारको नीति तथा कार्यक्रमबारे स्मरण गराउँदै भालुवाङका जनताको लालपुर्जाको व्यवस्था सोही रणनीतिअन्तर्गत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भूमि दर्ता गर्न लाग्ने शुल्क घटाउन सरकारले पहल गर्नेसमेत जानकारी दिए ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणका विषयमा नयाँ ऐन बनाउने र नीतिगत भ्रष्टाचारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले चुरे दोहन र तराई मरुभूमिकरणको विषयमा सरकार गम्भीर रहेको स्मरण गराए । रुबी भ्यालीका विषयमा आवश्यक नीतिगत निर्णय लिएर अघि बढ्ने उनको भनाइ छ ।
वैदेशिक रोजगारीका लागि विदेशिने क्रम रोक्न सिधैँ गाउँपालिका केन्द्रित रोजगार तालिम सञ्चालन गर्ने र आगामी आवको बजेटमा यसबारे व्यवस्था गर्ने उहाँले बताए । “विगतमा विभिन्न नाममा जुन अनुदान रकम पठाउने गरेका छौँ, त्यसको सदुपयोग भएन भनेर नै यो पटक हामीले त्यसखालका कार्यक्रम गाभेर एकीकृत कार्यक्रमका रूपमा सिधै गाउँपालिकाअन्तर्गत कार्यक्रम लागू गर्नेछौँ”, उनले भने ।
उनले आगामी आवको नीति तथा कार्यक्रम र बजेटबीच दुई महिनाको ‘ग्याप’ राख्ने सुझावप्रति नयाँ ढङ्गले सोच्न जरुरी रहेको भन्दै यसबारे सरकारले पहल गर्नेसमेत बताए ।
नक्कली भूटानी शरणार्थी, भ्रष्टाचारका विषयमा निष्पक्षरूपमा अनुसन्धान भइरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितको संरक्षण र समस्या समाधानका लागि ऐन बनाएर विशेष ‘एक्सन टिम’ले समाधानको काम अघि बढाएकोसमेत जानकारी दिए । यस्तै रुग्ण उद्योग र बन्द उद्योग पुनः सञ्चालनका लागि सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले रासायनिक मलबारे यसपटक समस्या नहुने दाबीसमेत गरे ।



