काठमाडौं । आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सरकारले ल्याएको नीति कार्यक्रम शनिबारको बैठकबाट पारित गरिएको हो । नीति तथा कार्यक्रम बहुमतले पारित भएसंगै सरकारलाई वजेट ल्याउने बाटो खुला भएको छ ।
त्यसअघि, सांसदहरूले विभिन्न विषयमा उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ७ गतेदेखि त्यसमाथि छलफल गरिएको थियो । विभिन्न सांसदहरूले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
शनिबारको बैठकमा संशोधन प्रस्ताव निणयार्थ पेस गरिएकोमा बैठकले त्यसलाई अस्वीकार गरेको थियो । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएकोमा सभामुख देवराज घिमिरेले नीति कार्यक्रम बहुमतबाट पारित भएको घोषणा गरेका थिए ।
हरेक वर्ष जेठ १५ गते सरकारको वार्षिक बजेट संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट यसअघि नै पारित भइसकेको छ । नीति तथा कार्यक्रम पारितसँगै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।



