काठमाडौं । आजदेखि विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो । प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन जिल्ला प्रशासन कार्यालयले विराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
यसले शान्ति सुरक्षामा असर पर्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जनाएका छन्। जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०७९/१२/५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलूस, भेला, र्याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ।’
स्थानीय प्रशासनले प्रदेश सभा भवनको पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरिको ३०० मिटरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
त्यस्तै, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालयको डाँफे चोकदेखि पूर्वको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा उल्लङ्घन गरिए कारबाही गरिने चेतावनी दिइएको छ ।



