images
images

अव्यवस्थित बसोबासी समस्या हल नहुँदा सम्पन्न भएन करिडोर


  • 267
    SHARES
  • २०८० जेठ ११ गते बिहीबार

    अव्यवस्थित बसोबासी समस्या हल नहुँदा सम्पन्न भएन करिडोर

    काठमाडौं । निर्माण सुरु भएको साढे दुई दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन । 

    सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्र्याक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्र्याक खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले बताए । 

    बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै खुलेको छ भने अर्कातर्फ खुल्न सकेको छैन । तिलगङ्गाबाट अगाडि देब्रे सडक मात्रै खुलेको छ । उनले भने, “तीनकुने पुलबाट दायाँतर्फ सिनामङ्गल पुल नजिकै दुई किमी सडक खुल्न सकेको छैन ।” 

    अव्यवस्थित बसोबासीका विषयमा राष्ट्रिय मुद्दा बनेको र यसको समाधान भएपछि मात्रै ती स्थानमा सडक निर्माण गर्न सकिने उनले बताए। तिलगङ्गादेखि सिनामङ्गलसम्म ५/६ सय र थापाथलीमा २ सय ४३ घरधुरीको बसोबास करिडोर सडक निर्माण गर्ने स्थानमा रहेको छ । 

    राष्ट्रिय भूमि आयोगले पहिले त्यस समस्याको समाधान गरेपछि मात्रै करिडोर निर्माण अघि बढ्नसक्ने सूचना अधिकारी अर्यालले बताए । आयोग र सम्बन्धित स्थानीय तहको भूमिका बढी रहेको उनको भनाइ छ । उनले भने, “वास्तविक सुकुम्बासी को हुन् को होइनन् भन्ने भएपछि थप काम गर्न सकिनेछ ।” 

    तीनकुनेबाट बुद्धनगर हुँदै थापाथलीसम्मका खण्डमा सडक बनिसकेको छ । शङ्खमूलमा च्यासल मैदानबाट मनोहरातर्फबाट आउँदाका खण्डमा ट्र्याक खुल्न बाँकी रहेको अर्यालले बताए । शङ्खपार्क क्षेत्रमा काठमाडौँतर्फ ट्र्याक खुलेको छ भने ललितपुरतर्फ खुलेको छैन । शङ्खमूलबाट ललितपुरतर्फ निरन्तर जाँदा चक्रपथ बल्खु हुँदै सुन्दरीघाटसम्म सडक पुग्छ । सुन्दरीघाटबाट पनि अस्थायी बाटो चोभारको मोर्डन इन्डियन स्कुलको अगाडिसम्म पुगेको उनले जानकारी दिए । उनले भने, “थापाथलीमा अस्थायी बसोबासीको घर धेरै हुँदा समाधान नहुँदासम्म गर्न सकिँदैन ।”

    विष्णुमती दोभानबाट अघि बढ्दा फलफूल बजारतिर अघि ट्र्याक खुलेको र अबका दिनमा त्यसलाई स्तरोन्नति गरिने समितिको योजना छ । समितिको कार्यक्षेत्र बागद्वारबाट कटुवाल दहसम्म ४४ किलोमिटर हो । सुरु र अन्तिम खण्डमा निर्माण हुन बाँकी छ भने बीचका खण्डमा पनि समस्या नभएका खण्डमा मात्रै निर्माणको काम भएको छ ।

    करिडोर निर्माणको काम अव्यवस्थित बस्ती भएको ठाउँमा नै बढी बाँकी रहेको समितिले जनाएको छ । अरु कतिपय ठाउँमा अरु संरचनाका कारण पनि करिडोर निर्माण अघि बढ्न नसकेको पाइएको छ । कतै विद्यालय, क्याम्पस र वृद्धाश्रमलगायतका संरचना रहेकाले निर्माण हुन नसकेको उनले बताए । उनले भने, “अहिले त्यो सारेर काम अघि बढिरहेको छ ।”

    काठमाडौंका मुख्य सडकमा रहेको सवारी चाप कम गर्नेसँगै बाग्मती र त्यसको सहायक नदीको संरक्षण गर्ने उद्देश्यले सडक निर्माण र नदी संरक्षणको काम सुरु गरिएको थियो । समिति एक्लैले नसक्ने हुँदा अहिले आएका समस्या समाधानमा सरोकार राख्ने सबै निकाय मिलेर गर्नुपर्ने सूचना अधिकारी अर्यालले बताए । 


    images
    images

    Logo