काठमाडौं । मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग आइपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। लखनउ सुपर जायन्ट्सलाई पाखा लगाउँदै मुम्बईले गुजरातसंगको भेट पक्का गरेको हो ।
चेन्नाईको एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको ईलिमिनेटरमा मुम्बई ८१ रनले विजयी भएको हो। मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय १ रनमा समेटियो। लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए। ३ दशमलब २ ओभरमा २३ रन बनाउँदा लखनउले २ विकेट गुमाएको थियो। तेस्रो विकेटका लागि कप्तान कुर्नाल पान्ड्या र मार्कस स्टोयनिसले ४६ रनको साझेदारी गरेका थिए।
मुम्बईका लागि आकाश मधवालले ३ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ५ विकेट लिएका थिए । क्रिस जोर्डन र पीयुष चावलाले समान १(१ विकेट लिए। लखनउका तीन ब्याट्समेन रन आउट भएका थिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो। मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए। ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए। अर्का ओपनर ईशान किशनले १२ बलमा ३ चौका सहित १५ रन प्रहार गरे।
लखनउका नविन उल हकले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए। यश ठाकुरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए। मोहसिन खानले एक विकेट लिए ।
ईलिमिनेटर खेलमा लखनउलाई पराजित गरेसँगै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। ईलिमिनेटर खेलमा पराजित लखनउ भने प्रतियोगिताबाट बाहिरिएको छ।
मुम्बईले दोस्रो क्वालिफायरमा शुक्रबारराती गुजरात टाईटन्ससँग खेल्ने छ। फाइनल खेल आगामी आईतबार अहमदाबादमा हुनेछ।



