images
images

बुटवल उपमहानगरपालिकाकाे एक वर्षकाे उपलब्धि सार्वजनिक, एकैवर्षमै अस्पताल निर्माण 


  • 194
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    बुटवल उपमहानगरपालिकाकाे एक वर्षकाे उपलब्धि सार्वजनिक,  एकैवर्षमै अस्पताल निर्माण 

    बुटवल । बुटवल उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको जेठ ९ गतेदेखि १ वर्षका उपलब्धि सार्वजनिक गरेको हो । 

    बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले ४९ बुँदामा भिडियो सामग्रीसहितको उपलब्धि सार्वजनिक गरे । 

    उपलब्धि तथा प्रयासहरु सार्वजनिक गर्दै उनले पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलबासीको हितमा नीति निर्माण, बजेट निर्माण र कार्यान्वयन तथा संघ र प्रदेश सरकार, विभिन्न सरकारी कार्यालयहरु, सामाजिक संघसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताए । 

    उनले बुटवलबासीले दिएको मतको उच्च सम्मान गर्दै आगामी ४ वर्षमा बुटवलको विकासमा फड्को मार्नेगरी काम गर्ने बताए । जनताको सेवकका रुपमा भूमिका निर्वाह गरिरहेको भन्दै उनले सधैभर बुटवल र बुटवलबासीको पक्षमा हुने कामलाई लिएर संघ र प्रदेश सरकारलाई झकझक्याइरहेको बताए । 
     
    नगरप्रमुख पाण्डेयले एक वर्षमा बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महसुस गराउने उद्देश्यका साथ चरणबद्ध रुपमा बुटवलका १० हजार भन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाव संकलन गरेको र त्यसकै आधारमा योजना निर्माण र कार्यान्वयन गर्दै जाने बताए । 

    ‘बुटवलका मुख्य चुनौतीका रुपमा देखिएका ज्योतिनगर–लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो, तिनाउ नदी कटान, अव्यवस्थित बसोबास, भूमिहिन, सुकुम्बासी समस्या, छाडा चौपाया व्यवस्थापन, ट्राफिक व्यवस्थापनजस्ता विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा स्थानीय सरोकारवालासँग पटक पटक छलफल गरी समाधानका लागि अगुवाई गरिरहेका छौं’–उनले भने । 

    कार्यक्रममा सार्वजनिक उपलब्धि तथा प्रयासहरुमा  बुटवल १३ र १७ मा १५/१५ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सम्पन्न हुने चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने उनले बताए । 

    आधुनिक पशु बधशाला निर्माण सम्पन्न भई छिटै नै सञ्चालन गर्ने तयारीमा रहेको र बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाइ वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय भएको प्रमुख पाण्डेयले बताए । 

    बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए भईरहेको, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथ लगायतका सार्वजनिक स्थानहरुको नियमित तथा विशेष सरसफाई अभियान सञ्चालन गरिएको बताए । 

    कार्यक्रममा बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रहरुमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने, ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गर्ने प्रमुख पाण्डेयले बताए ।    

    यस्तै, तिनाउ नदी किनार, सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भईरहेको  उपलब्धि तथा प्रयासमा समेटिएको छ । 

    यस्तैगरी, सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका विद्युत, इन्टरनेट, केवलका तारहरुले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको, चार प्रकारका जटिल रोगहरु मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका १ सय ९० जना बिरामीहरुलाई मासिक  ५ हजार, जटिलरोग अनुदान सहयोग कार्यक्रमअन्तरगत १ सय ४५ जनालाई प्रतिबिरामी १७ हजार बिरामीकै बैंकखातामा उपलब्ध गराइएको र आठ प्रकारका जटिल रोगीमध्येका १ सय ४५ जनालाई संघीय सरकारमा र ४३ जनालाई प्रदेश सरकारमा सिफारिश गरिएको उपलब्धिमा समेटिएको छ । 

    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बुटवलले वार्षिक उपलब्धि सार्वजनिक गर्ने अभ्यासले स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने बताए । उनले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले बुटवलले जसरी प्रभावकारी रुपमा सेवाप्रवाह गर्नुपर्ने बताए । 

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले निर्वाचित भएर आएदेखि स्थानीय, प्रदेश र संघीय सरकारकै काममा आफुहरुले समय खर्चेको बताइन् । उनले संघ र प्रदेश सरकारले गर्ने काममा केही समन्वय अभावका कारण केही योजनाहरु अलमलमा परेको र स्थानीय सरकारले समन्वय र सहकार्य गर्दै आएको बताइन् । 

    प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै सरल पहुँच र सहज सेवा उपलब्ध गराउन सधै तयार रहेको बताए । 

    कार्यक्रममा राजनीतिक दल, संघसंस्था, बुटवल क्षेत्रका सरकारी कार्यालयका प्रमुखहरुलगायतले बोल्दै बुटवललाई समृद्ध बनाउनका लागि आपसी सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने बताए । 


    images
    images

    Logo