काठमाडौं । विश्वकीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा २८ औँ पटक सगरमाथा आरोहणमा गएका छन्। यसै साता २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राखेका शेर्पाले सोमबार २८ औँ पटक सगरमाथा आरोहणमा गएका हुन्।
खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै ८ पटक चोयु, ३ पटक मनास्लु, १ पटक ल्होत्से, १ पटक के-टु गरी ३९ पटक विश्वका अग्ला हिमाल आरोहण गरिसकेका छन्।
यसअघि पनि शेर्पाले ३ सिजनमा २/२ पटक सगरमाथा आरोहण गरिसकेका छन्। शेर्पाले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै सिजनमा दुई-दुई पटक सगरमाथाको आरोहण गरका थिए।
उनले सन् २०१९ मा ६ दिन भित्रमा २ पटक, सन् २०२१ र २०२२ मा क्याम्प–२ देखि सगरमाथाको चुचुरोसम्म डोरी टाँग्न नेतृत्वसमेत गरेका थिए। यस सिजनमा उनले सेभेन समिट ट्रेक्स र फोर्टिन पिक्स एक्स्पिडिशनको टिमलाई नेतृत्व गर्दै जेठ ३ गते बुधबार बिहान ८ गते २७ औँ पटक सगरमाथाको आरोहण गरेका थिए।
अब कामीरिताले २८ औँ पटकको आरोहण सोमवार शुरू गरेका शेर्पा मौसमले साथ दिए मङ्गलबार बिहाननै सर्वोच्च शिखर सगरमाथा पुग्ने बताइएको छ ।



