काठमाडौं । गुड्दै गरेको ‘यात्री’ बाइकका भाँचिएको तस्विर सार्वजनिक भएपछि यात्रीको उत्पादक कम्पनीले प्रष्टीकरण दिएको छ । सोमबार सूचना जारी गर्दै कम्पनीले उक्त मोटरसाइकल व्यावसायिक रूपमा बजारमा नपठाइएको दाबी गरेको हो ।
सोमबार दिउँसो उक्त कम्पनीको मोटरसाइकलको च्यासिस भाँचिएको तस्वीरहरू सार्वजनिक भएको थियो।
नयाँ डिजाइनको एक भागको रूपमा लगातार ‘यात्रीका नयाँ भागहरू र प्रणालीहरूको परीक्षण गरिरहेको कम्पनीले दावी गरेको छ । आन्तरिक परीक्षण कार्यक्रमको एक भागको रूपमा आफ्ना इन्जिनियरहरूले नयाँ चेसिस परीक्षण गरिरहेको पनि यात्रीले बताएको छ । तर यो राम्रोसँग भइनसकेको कम्पनीको दाबी छ।
‘हामी आशा गर्दछौं कि यसले कुनै पनि भ्रम हटाउन मद्दत गर्न सक्छ’, कम्पनीले स्पष्टीकरण दिएको छ।
आयातको क्रममा प्राप्त हुने प्रतीतपत्र देखाउन नसकेकै कारण लामो समयदेखि दर्ता हुन नसकेको यात्री मोटरसाइकल भर्खरै दर्ता भएर बजारमा उत्पादन आउन थालेको हो।



