काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको माल वस्तु आयात गरेको छ ।
दश महिनाको अवधिका कूल १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । विभागका अनुसार सो अवधिमा नेपालले १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात गरेको छ । सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ । आर्थिक बर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालले १ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक बर्षको १० महिनामा वस्तु निर्यात २४.४९ प्रतिशतले घटेको छ ।
विभागका अनुसार आर्थिक बर्ष २०७८/७९ मा १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको कूल आयात गरेकामा चालु आर्थिक बर्षको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको छ । कूल कारोबारका आधारमा आर्थिक बर्ष २०७८/७९ मा १७ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको व्यापार भएकामा चालु आर्थिक बर्षको १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।



