काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा बैंक वित्तीय बिषयमा छुट्टै पाठ्यक्रम निर्माण गरिने भएको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयबीच छुट्टै पाठ्यक्रम निर्माणका लागि सम्झौता गरेकोे हो ।
नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पूँजीको समग्र अवस्थालाई मध्यनजर गर्दै उक्त पाठ्यक्रम निर्माण गर्न लागेको जनाइएको छ । उक्त पाठ्यक्रमले आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई समेत सम्बोधन गर्दै दक्ष तथा प्रतिस्पर्धी मानवीय स्रोतको उत्पादन गर्ने जनाइएको छ ।
उक्त सम्झौतामा सिबिफिनकोतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र पूर्वाञ्चल विश्वविद्यालयकोतर्फबाट उपकुलपति प्रा.डा. यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।
सिबिफिनले उक्त पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको रहने र त्यसले शिक्षा, सिप, श्रम र व्यवहारिकतालाई जोड्दै अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्नसक्ने बनाउने उद्देश्य लिएको छ । देशैभित्र मानवीय पूँजीको उपयुक्त परिचालन तथा उपयोग गर्नु र नेपालको बैंकिङ क्षेत्रले प्राप्त गरेको विश्वास र प्रतिष्ठालाई अन्तर्राष्ट्रियकरण गर्नु समेत उक्त सम्झौताको उद्देश्य रहेको जनाइएको छ ।
कर्जा जोखिम, सम्पत्ति व्यवस्थापन, तरलता र जोखिम मूल्याङ्कन, तरलता र जोखिम व्यवस्थापन, वित्तीय उपकरण विकास, वित्तीय इन्जिनियरिङ, डिजीटल÷क्रिप्टो करेन्सी, वित्तीय मोडेलिङ, वित्तीय स्थायित्व, वित्तीय समावेशीकरण, डिजिटल फाइनान्स, छायाँ बैंकिङ, स्टार्ट अप बिजनेस, स्वउद्यमशिलता जस्ता नविन विषयहरु र बैंकिङ क्षेत्रमा प्रवेश गरिसकेपछि व्यवहारिकरुपमा सम्पादन गर्नुपर्ने कार्यहरुका विषयमा पाठ्यक्रम निर्माण हुनेछ ।
त्यसैगरी विदेशी मुद्रा नीति, विदेशी विनिमय व्यवस्थापन÷विदेशी विनिमय दर र विदेशी मुद्रा नीतिमा यसको प्रभाव, भुक्तानी प्रणाली विकास, भुक्तानी उपकरण, भुक्तानी प्रणाली पूर्वाधार, इलेक्ट्रोनिक भुक्तानी प्रणाली, ई–बैंकिङ÷डिजिटल बैंकिङ, ब्याजदर, निक्षेप, कर्जा, पूँजी बजारको विकास, पूँजी बजारका साधन र पूर्वाधार जस्ता विषयहरुमा प्राप्त हुने व्यवहारिक ज्ञानले कार्यसम्पादनमा चुस्तता एवं निपूर्णताको विकास गर्ने र वर्तमान तथा भविष्यमा बैंकिङ क्षेत्रमा देखिने जोखिम व्यवस्थापनसहित बैंकिङ क्षेत्रको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
प्रारम्भिक चरणमा स्नात्तकोत्तर तहमा लागू हुने यस पाठ्यक्रमलाई बिस्तारै तल्लो तहबाट नै लागू हुने गरी थप पाठ्यक्रम निर्माण गर्ने लक्ष्य राखिएको छ । पाठ्यक्रम निर्माणका लागि ख्यातिप्राप्त विषयविज्ञहरु रहेको एक कार्यदल गठन गरी सरोकारवाला पक्षहरुसँग ब्यापक छलफल तथा पराशर्म गर्ने कार्य तत्काल आरम्भ गरिने जनाइएको छ ।



