काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा परेकालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आइतबार अदालतले पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेकालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । नेपाली नागरिकलाई भटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको भन्दै प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै, सवैभन्दा पहिले सो प्रकरणमा केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । यस्तै पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका थिए ।



