काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेसबाट ४ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् । कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री र राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन् ।नवनियुक्त मन्त्रीहरूको शपथ आज अपराह्न ३ बजे गर्ने तयारी रहेको छ।
यसअघि २०७९ साल पुस २५ मा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेलले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । तत्कालीन समयमा सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले)मा मन्त्रीहरु पनि सहभागी थिए। तर राप्रपा र एमाले सरकारबाट बाहिरिएपछि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।
मुख्यमन्त्री जमकट्टेलले गत चैत १० मा विश्वासको मत प्राप्त गर्नुभएको थियो । विश्वासको मत प्राप्त गरेलगत्तै गत चैत २६ मा नेपाली कांग्रेसको तर्फबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा कानुनमन्त्री र तीर्थ लामा ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका थिए ।



