काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा पर्सामा रहेका सरकारी कार्यालयको पूँजीगत खर्च निराशाजनक देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगञ्जका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाको पूँजीगत खर्च ३५ प्रतिशत रहेको छ ।
यहाँका ४२ सरकारी कार्यालयले कूल बजेटको पूँजीगततर्फ ३५ प्रतिशत र चालुतर्फ ८१ प्रतिशतमात्र खर्च गरेका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए । उनका अनुसार पूँजीगततर्फ ४ अर्ब ४७ करोड २६ लाख ४२ हजार ४ सय ३८ रुपैयाँ मध्ये वैशाख मसान्तसम्म १ अर्ब ५५ करोड २२ लाख १६ हजार १८ मात्र रुपैयाँ खर्च भएको छ भने चालुतर्फ १० अर्ब ३७ करोड ९३ लाख ८ हजार ९ सय ५७ रुपैयाँ मध्ये वैशाख मसान्तसम्म ८ अर्ब ४६ करोड ११ लाख १ हजार ९ सय १२ रुपैयाँ खर्च भएको छ ।
वीरगञ्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र शसर्त बजेट ५ अर्ब ४२ करोड ३५ लाख ८० हजार रुपैयाँमध्ये वैशाखसम्म सबै पालिकाको पहिलो र दोस्रो त्रैमासिकमा गरी २ अर्ब २६ करोड ५० लाख २२ हजार २ सय रुपैयाँ निकासा भएको कार्यालयले जनाएको छ ।
समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुलगायत कारणले सरकारी कार्यालयको पूँजीगत खर्च र विकास बजेट खर्च हुन नसकेको प्रमुख उप्रेतीको भनाइ छ ।



