खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सपन्न गरेको छ । बीमा कार्यक्रममा खटिने कर्मचारी तथा बीमा दर्ता सहयोगीलाई स्वास्थ्य बीमाबारेको ज्ञान तथा दर्तासम्बन्धी प्राविधिक पक्षहरुबारे जानकारी गराउन यो कार्यक्रम आयोजना गरिएको हो ।
बिहीबार आयोजित उक्त कार्यक्रममा नगरपालिकाकी प्रमुख विमला राई, उपप्रमुख रमेश कुमार राउत लगाययत जनप्रतिनिधि, कर्मचारी स्वास्थ बीमामा दर्ता सहयोगीहरुको सहभागिता थियो । नगरपालिकाले घरघरमै गएर स्वास्थ्य बीमा दर्तासम्बन्धी सेवा दिने तयारीका साथ यस्तो अभिमुखीकरण आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख राइले चालु आर्थिक वर्षभित्रै नगर क्षेत्रका १ सय २० जनाको निशुल्क स्वास्थ्य बीमा गर्ने जानकारी दिइन् । यसका लागि आमाबाबु गुमाएका तथा बेपत्ता भएका परिवारका बालबालिका, एकल पुरुष तथा महिला, अपांगता भएका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर यस्तो कार्यक्रम अघि बढाइएको उनको भनाइ छ ।
नगर अस्पताललाई प्रथम बिन्दु मानी उक्त स्वास्थ्य बीमा अन्तर्गतको उपचार सुविधा दिइनेछ ।



