काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न शीर्षकहरुमा हुने खर्च कटौती गर्ने निर्णय गरेको छ । प्राधिकरणले प्रधान कार्यालय परिसरभित्र रहेका सबै कार्यालयहरु, निर्देशनालय र विभागमा विभिन्न शीर्षकहरुमा हुने खर्च कटौती गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत २८ वैशाखमा परिपत्र जारी गर्दै मुलुकको अर्थतन्त्रमा आएको शिथिलतासँगै प्राधिकरणमा समेत विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्दै नियन्त्रण गर्नुपर्ने देखिएको बताएका छन् ।
प्राधिकरणले तह १० वा सोभन्दा माथिका पदाधिकारी, कार्यालय प्रमुख र आयोजना प्रमुखलाई अतिरिक्त समय भत्ता र खाजा भत्ता नदिने निर्णय गरेको छ । साथै, कार्यकारी निर्देशकको स्वीकृति बेगर सार्वजनिक बिदाको दिन गाडी प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।




