काठमाडौं । दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ । ललिपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो ।
सिमकार्ड निःशुल्क रुपमा वितरण भइरहेको भएपनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड रहेको पाइएको छ । सिमकार्ड वितरण निशुल्क वितरण गर्ने भनिएपनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए।
उहाँले अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सम्बन्धित निकायलाई जानकारी दिएको बताए । उनले अवैध रुपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री वितरण भइरहेको गुनासो आएसँगै गत पुस ४ गते प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन गरी कारवाही गर्न अनुरोध गर्दै पत्र काटेको जानकारी दिए । कटुवालले सिमकार्ड वितरण कार्य नरोकिए पछि पुनः वैशाख ३१ गते दोस्रो पटक प्रहरीलाई जानकारी दिएको बताए । – न्युज एजेन्सी नेपाल



