काठमाडौं । विस्फोटक पदार्थ आवस्यक पर्ने आयोजनाले अर्को कुनै आयोजनाबाट विस्फोटक पदार्थ सापटी लिन पाउने भएको छ । सोमबार राजपत्रमा ‘विस्फोटक पदार्थ (दोस्रो संशोधन) नियम, २०८०’ प्रकाशित गर्दै गृह मन्त्रालयले उक्त व्यवस्था गरेको हो ।
मन्त्रालयले गरेको उक्त व्यवस्था अनुसार, आयोजनाले विस्फोटक पदार्थ पैठारी वा खरिद गर्न नसक्ने अवस्था हुँदा र नेपाली सेनाले पनि उपलब्ध गराउन नसकेको अवस्थामा अर्को आयोजनाबाट विस्फोटक पदार्थ सापटी लिन पाउने सुविधा दिएको छ ।
लिने दिने दुबै आयोजनाको सहमतिमा, विस्फोटक पदार्थ दिने आयोजना रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिनुपर्ने र सुरक्षा समितिले विस्फोटक पदार्थ लिने आयोजना रहेको जिल्लाको सुरक्षा समितिमा सिफारिस पठाउनुपर्नेछ । र उक्त जिल्लाको प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा स्वीकृतिका लागि पठाउनुपर्नेछ । मन्त्रालयले नेपाली सेनासँग समन्वय गरी विस्फोटक पदार्थ लिनदिन पाउने स्वीकृति दिएपछि मात्रै एक योजनाको विस्फोटक पदार्थ अर्को आयोजनामा प्रयोग गर्न पाइने नियममा उल्लेख गरिएको छ ।
विस्फोटक पदार्थ सापटी लिने र सापटी फिर्ता गर्ने काम नेपाली सेनाको प्रत्यक्ष निगरानीमा गरिनुपर्ने जनाइएको छ ।



