काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बैशाख मसान्तसम्ममा १ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले बैशाख मसान्तसम्ममा सातौ पटक गरि बोर्डमा आवद्ध भएका सेवा प्रदायक संस्थाहरुलाई १ अर्ब ८९ करोड ५२ हजार ६ सय १८ रुपैयाँ बराबरको रकम भुक्तानी गरेको हो ।
बोर्डका अनुसार बैशाख २६ गते बसेको बोर्डको दाबी भुक्तानी समितिको बैठकले पूर्ण तथा आंशिक दाबी, पेश्की र बेरूजु फर्छ्यौट समेत गरी यो रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
बोर्डले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा झण्डै १० अर्ब ४४ करोड रूपैयाँ दाबी भुक्तानी गरिसकेको छ। बोर्डले चालु आर्थिक वर्ष भित्र विभिन्न ७ किस्तामा यो रकम सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी गरेको हो ।
यसअघि बोर्ड संञ्चालक समितिको चैत २ गते बसेको बैठकले ३ सय ४७ वटा सेवा प्रदायक संस्थाहरुलाई १ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको थियो ।
बोर्डले चालू आर्थिक वर्ष भदौमा पहिलो दाबी भुक्तानीवापत २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ भुक्तानी उपलब्ध गराएको थियो । यसैगरी दोश्रो दाबी भुक्तानीवापत ६६ करोड ८१ लाख रुपैयाँ, तेश्रो दाबी भुक्तानीवापत १ अर्ब ७ करोड ६ लाख रुपैयाँ र चौथो दाबी भुक्तानीवापत १ अर्ब १८ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
त्यस्तै, पाँचौ दावी भुक्तानीबापत १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ, छैटौं दावी भुक्तानीबापत १ अर्ब ५५ करोड रुपैयाँ भुक्तानी गरेको थियो। यसका साथै बोर्डले २०७२ सालमा सामाजिक सुरक्षाका रुपमा शुरु भएको यस कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।



