भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सुर्यविनायक नगर समितिको सभापतिमा मजोज केसी चयन भएका छन् । आज सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समितिको बृहत वैठकले केसीको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपसभापतिमा राजु राउत, सचिवमा आस्था बस्नेत, कोषाध्यक्षमा दिपेन्द्र परियार छानिएका छन् । त्यसैगरी सदस्यमा सुशान्त डोटेल, दिनेश न्यौपाने, श्याम कुमार महत, सन्तोषी नगरकोटी, रामकृष्ण देउजा, सुनिला देउजा र शुसिल ढुंगेल रहेका छन् । नगरसमिति गठन कार्यक्रममा आफुहरुले सोचेभन्दा राम्रो संख्यामा सर्वसाधारणको उपस्थिति भएपछि आफुहरु थप हौसिएको नवगठित नगर समितिका सभापति केसीले बताए ।
नगर समिति गठन कार्यक्रमलाई सम्बोधनगर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा सधै नागरिकको पक्षमा काम गर्ने, राम्रो काम गरेर सरकारलाई सहयोग गर्ने र नराम्रो काममा सधै खवरदारीगर्दै प्रतिपक्षका रुपमा उभिने बताए । सभापति लामिछानेले बढ्दो भ्रष्टाचार, कमिसनतन्त्र र जनताको काममा हुने ढिलासुस्तीका बिरुद्ध खरो रुपमा उत्रने बताए ।
लामिछानेले भने, ‘‘प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु, मैले उनलाई हौसला दिएर आएको छु, भ्रष्टाचारका सबै फाइल एकपछि अर्को खोल्नूस् ।, जुनसुकै दलका नेता परे पनि जोगाउन नलाग्नूस्, दोषीमाथि कारबाही गर्नूस्, हाम्रो पार्टीबाट नागरिकका पक्षमा काम गरे सहयोग गर्छौं ।”
सरकारलाई दोषीमाथि कारबाही र पक्राउ गर्न खुट्टा नकमाउन आग्रह गर्दै नक्कली भूटानी शरणार्थी काण्डमा सरकारलाई धन्यवाद दिएको तथा वाइडबडी, यति, ओम्नी लगायतका सबै काण्डहरुको फाइल खोल्दै गए धन्यवाद दिँदै जाने र सहयोग गर्दै जाने लामिछानेको भनाई थियो ।
कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै पार्टी मिलेर भ्रष्टाचार निर्मूल पार्दै राजनीतिलाई शुद्धिकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेताले भ्रष्टाचार गरेर नियतवश जनतालाई गरिब बनाएको आरोप लगाए ।
रास्वपाका केन्द्रीय सदस्य डा तोसिमा कार्कीले देशमा व्यवस्था परिवर्तन भए पनि शासकीय सोच परिवर्तन नभएको आरोप लगाउँदै व्यवस्था नभई देशको अवस्था परिवर्तन गर्ने अभियान आफ्नो पार्टीले चलाएको बताइन् ।



