images
images

मासिक २५ रुपैयाँको बचतबाट २ करोड ऋण लगानी


  • 240
    SHARES
  • २०८० बैशाख ३० गते शनिबार

    मासिक २५ रुपैयाँको बचतबाट २ करोड ऋण लगानी

    काठमाडौं । म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था बचत सङ्कलन र ऋण लगानीमा अब्बल सावित भएको छ ।

    पाँच वर्षअघि २०७५ सालमा छ जना दिदीबहिनी सङ्गठित भएर मासिक २५ रुपैयाँ सङ्कलन गरेर सुरु भएको संस्थामा यतिबेला ५० लाख रुपैयाँ शेयर रकम, १ करोड ४५ लाख रुपैयाँ बचत रकम र २ करोड रुपैयाँ ऋण लगानी रहेको संस्थाका अध्यक्ष विष्णु थापाले जानकारी दिए ।

    “हामीले संस्थामा जम्मा भएको रकम तीन सय दिदीबहिनीलाई ऋण लगानी गरेका छौँ, सदस्यबाट सङ्कलन गरेको बचत र शेयर रकम सदस्यमा नै लगानी भएको छ”, अध्यक्ष थापाले भने ।

    राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रविधिक सहयोगमा ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुईदिने सहकारी शिक्षा तालिमका सहभागी महिलाले आफ्नो सहकारी आफैँले सुरक्षित गर्ने र समस्या आउन नदिने महिलाले प्रतिबद्धता जनाएका छन् । 

    देशका विभिन्न ठाउँमा ठूलो कारोबार गर्ने सहकारीले बचत फिर्ता गर्न नसकेका समाचारको प्रभाव गाउँघरमा समेत पर्न थालेको चर्चा गर्दै उनीहरुले आफूहरुले चलाएको सहकारीमा कुनै समस्या नभएको र आगामी दिनमा पनि समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    अन्यत्र यस्तो भयो, उस्तो भयो, हाम्रोमा के हुन्छ ? भन्ने आशङ्का व्यक्त गर्ने शेयर सदस्यलाई समेत उनीहरुले निर्धक्क भएर कारोबार गर्न आह्वान गरेका छन् । सहकारीमा गैरसदस्य समेतबाट रकम सङ्कलन गर्ने र सञ्चालकलगायत सीमित व्यक्तिले रकम चलाउने गरेका कारण केही सहकारीमा आएको समस्याले आमजनतामा नै सहकारीप्रति आशङ्का देखिएको उनले बताए। 

    अध्यक्ष थापाले सहकारीको समस्या पहिचान गर्ने, समस्या परेमा सहयोग गर्ने जिम्मेवारी शेयर सदस्यको भएकाले सहकारी क्षेत्रमा आएको समस्यालाई समाधान गर्न सदस्यको जागरुकता बढाउनुपर्नेमा जोड दिए ।

    संस्थाका सचिव उमा शर्माले सहकारीप्रति देखिँदै गएको अविश्वास हटाएर सहकारीलाई थप व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालनका लागि सदस्य जागरण अभियान सुरु गरिएको जानकारी दिए ।

    तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको दिगोपना र प्रभावकारीताका लागि सदस्यलाई सचेत बनाउन आवश्यक रहेको बताए ।

     


    images
    images

    Logo