काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख निवासमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए । यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् । यसअघि गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय रहेकोमा अहिले ७ वटा मन्त्रालयमा झारेको छ ।
१५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो । यसअघि केन्द्रले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने भनिएको थियो ।



