images
images

परीक्षा केन्द्र बाहिर अनधिकृत प्रचार सामग्री वितरण गर्ने ६१ जना पक्राउ


  • 381
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    परीक्षा केन्द्र बाहिर अनधिकृत प्रचार सामग्री वितरण गर्ने ६१ जना पक्राउ

    काठमाडौं । परीक्षा केन्द्र बाहिर बसेर अनधिकृत रुपमा प्रचार सामग्री वितरण गर्ने ६१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको संस्था पहिचान अहिले प्रति संस्था ५ हजार रुपैयाँ जरिवाना तिराइँदै छ । पक्राउ पर्नेहरुलाई महानगरले बागदरवारस्थित प्रहरी बलको कार्यालयमा ल्याएर जरिवाना तिराइरहेको हो । बलले ४ वटै क्षेत्रबाट नगर प्रहरी परिचालन गरेर कक्षा १२ को परीक्षा केन्द्र बाहिरबाट उनीहरुलाई पक्राउ गरेको हो । 

    पक्राउ पर्नेहरुले कक्षा १२ को परीक्षापछि विद्यार्थीहरुलाई आफूतिर आकर्षित गर्नका लागि क्याम्पस र वैदेशिक शिक्षा तथा अन्य कक्षा सम्बन्धी प्रचार सामग्री बाँडिरहेका थिए । कतिपय संस्थाहरुले परीक्षा केन्द्र बाहिर बुथ बनाएर विद्यार्थीहरुलाई सामग्री दिएका थिए ।शैक्षिक परामर्श संस्थाहरु तथा क्याम्पसहरुले नयाँ विद्यार्थीहरुलाई भर्नाका लागि अध्ययनरत विद्यार्थीहरुलाई परिचालन गरेको पक्राउ पर्नेहरुको संख्या हेर्दा थाहा हुन्छ । 

    बस्तु वा सेवाको प्रचार प्रसार व्यवस्थापन गर्न २०७९ चैत ३० गते काठमाडौँ महानगरपालिकाको स्थानीय राजपत्रमा समावेश गरेर ‘काठमाडौँ महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका — २०७९’ जारी गरेको छ । निर्देशिका बमोजिम महानगर क्षेत्रभित्र बिज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टाँस्ने, वाल पेन्टिङ्, पोष्टरिङ्, पम्प्लेटिङ्, पर्चा वितरण, व्यानर टाँस्ने माध्यमलाई अनुमति दिइने छैन । महानगरले अनुमति नदिने भनेको काम अन्य कसैले गर्न सक्दैनन् । निर्देशिकाले सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा वाह्य बिज्ञापन गर्न निषेध गरेको छ । 

    ६ परिच्छेद र २४ दफा रहेको निर्देशिकामा वाह्य विज्ञापन सम्बन्धी व्यवस्था, बिज्ञापन गर्न निषेध, बिज्ञापन गर्न नहुने, ग्राह्य नहुने विषय, निषेधित क्षेत्र घोषणा गर्न सक्ने, बिज्ञापन बोर्ड, परिचय पाटी, नियमन समिति गठन लगायत व्यवस्था छन् । नियमन समितिको काम कर्तव्य र अधिकार, बिज्ञापन कर सम्बन्धी व्यवस्था, स्थानान्तरण सम्बन्धी व्यवस्था, बिज्ञापन कल्याण कोष सञ्चालन, वाह्य विज्ञापनका लागि अनुमति दिन नसकिने, बिज्ञापन खारेज, वातावरणमैत्री विज्ञापनको प्रवर्धन, प्रोत्साहन लगायत प्रबन्ध छन् । 

    प्रचलित कानुन तथा निर्देशिकाको प्रतिकुल हुने बिज्ञापन सामग्रीलाई न्यायिक समितिले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । 

    यसअनुसार बिज्ञापन सम्बन्धी संघीय र प्रदेश कानुन विपरीत हुने, धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल, विश्व सम्पदा क्षेत्रमा सूचीकृत मौलिक संरचना वा संस्कृतिमा प्रतिकुल असर हुने बिज्ञापन गर्न पाइँदैन । महानगरपालिकाको नगर सभाबाट स्वीकृत नीतिले कुनै स्थान विशेषमा रोक लगाएको भए यस्तो स्थानमा विज्ञापन गर्न पाइँदैन । बिज्ञापन राख्ने ठाउँ १२ फिट भन्दा कम उचाइमा रहेमा, नक्सापास नभएको संरचनामा, प्राविधिक रुपमा सवल नभएको भवनमा, वाहिरी रुपमा रङ्ग रोगन नगरिएको भवनमा, हेर्दा दुरुस्त नदेखिने भवनमा बिज्ञापन बोर्ड राख्न पाइँदैन । कुनै घर वा भवनको बार्दली, झ्याल, ढोका, भेन्टिलेटर छेकेर हावा वा प्रकाश छेकेर वोर्ड राख्न पाइँदैन । 

    मल, सुपर मार्केट र बहुतले व्यावसायिक भवन बाहेकका पुरातात्विक महत्वका क्षेत्र, प्रशासनिक क्षेत्र, सम्पदा क्षेत्र, कुटनीतिक क्षेत्रमा र त्यसको १ सय मिटर भित्रको दुरीमा बोर्ड राख्न पाइँदैन । 


    बिज्ञापन गर्न नहुने विषयहरु

    प्रचलित नेपाल कानुनले उत्पादन, बिक्री वितरण, उपभोग र प्रयोग गर्न निषेध गरेका बस्तु, पदार्थ तथा सेवा, महानगरको स्थानीय कानुन विपरीतका सेवा, संरचना र विषयबस्तुको विज्ञापन गर्न पाइँदैन । कानुनले अश्लील मानेका विषय, सामाजिक रुपमा भ्रम र विकृति फैलाउने, अन्धविश्वाशलाई प्रोत्साहन गर्ने, चिकित्सकको शिफारिसमा मात्र विक्री वितरण गर्नु पर्ने औषधिको विज्ञापन गर्न पाइँदैन । 

    अनुमति लिएर मात्र प्रयोग गर्न पाउने सेवा सम्बन्धी विज्ञापन सेवा सुरु हुन अगाडि गर्न पाइँदैन । स्वच्छ प्रतिस्पर्धामा संकुचन ल्याउने, दृश्य प्रदुषण बढाउने, सवारी दुर्घटना बढाउने खालका बिज्ञापन गर्न पाइँदैन । 

     

     


    images
    images

    Logo