काठमाडौं । शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारको कुनै पनि विषय सम्बोधन गरेन । अर्थतन्त्रमा देखिएको शिथिलतासँगै महिनौदेखि सन्नाटा छाएको शेयर बजारलाई त्राण दिने मौद्रिक नीतिको आशामा रहेका शेयर लगानीकर्ताहरुलाई राष्ट्र बैंकले निराश बनाएको हो ।
खासगरी हाल शेयर बजार लगायत केही क्षेत्रमा प्रवाहित कर्जाको जोखिम भार गणना तथा शेयर कर्जाको मार्जिनको सन्दर्भमा राष्ट्र बैंक लचिलो हुने अपेक्षा गरिएको थियो । त्यसका लागि लगानीकर्ता संघहरुले राष्ट्र बैंकलाई औपचारिक तथा अनौपचारिक माध्यमबाट आग्रह गर्दै आएका थिए ।
समीक्षाले शेयर बजारलाई पार्नसक्ने प्रभाव भनेको बैंकदरमा आएको कमी हो । यद्यपि बैंकले बजारको ब्याजदरलाई तल झार्ने औजारको रुपमा नभइ बैंकिङ क्षेत्रले झरेको व्याजदरको अल्पकालीन समायोजन गर्ने उद्देश्यबाट आएको देखिन्छ ।



