वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषाको संरक्षण, संवद्र्धन तथा उत्थानको लागि आफु सँधै तत्पर रहेको बताएका छन् । भोजपुरी प्रतिष्ठान बीरगन्जको आयोजना र भाषा आयोगको सहकार्यमा बिहिवार वीरगञ्जको क्लासिक होटेलमा सम्पन्न “मातृभाषा में शिक्षा के सन्दर्भ– भोजपुरी में पठन पाठन” विषयक विमर्श गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले यस्तो बताएका हुन् ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथी भाषा आयोग नेपालका अध्यक्ष डा. गोपाल ठाकुरले प्रारम्भिक शिक्षा मातृभाषामा संचालन गर्न सके सिकाई प्रक्रिया सहज हुने ठोकुवा गरे । स्थानीय भाषामा पठन पाठन लागु गर्न स्थानिय सरकार तथा समाज पनि गम्भिरताका साथ लाग्नु पर्ने आवश्यता रहेको कुरामा डा. ठाकुरले जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दैै वीरगञ्ज महानगरपालिका शिक्षा शाखाका प्रमुख अरविन्दलाल कर्णले कुनै समुदायको इतिहास समाप्त गर्नु परेमा सो समुदायको भाषालाई समाप्त गरे पुग्ने भएको हुँदा आफ्नो मातृभाषाको संरक्षणमा सबै जना गम्भीरताको साथ लाग्नु पर्ने धारण राखे ।
त्यसैगरी भाषा आयोगका सदस्य गोपाल अश्कले मातृ भाषामा रोजगारी सृजना गर्न सके मातृ भाषाको विकास हुने बताए । उनले काठमाडौं महानगरपालिकामा मातृभाषा ११५ जना शिक्षक दरबन्दी कायम गरिएको उदारहण दिदै हामीले पनि त्यतो गर्न सके भोजपुरी भाषा प्रतिको आकर्षण बढने बताए ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भाषा बिद् डा. विश्वम्भर शर्मा, बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, भोजपुरीया माटीका सम्पादक साहित्यकार रामप्रसाद साह, महुवा पत्रिकाका सम्पदाक प्रियंका पाण्डे, ललित कला केन्द्रका सदस्य अजमत अली,सलमा खातुन, ओमप्रकाश सर्राफ, तवरेज अहमद, ईश्वरचन्द्र यादव, बिनोद मेहता, धुव्र सिंह ठकुरी, अनिता साह, ऋतुराज पटेल, लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई भाषा आयोगका अध्यक्ष डा. ठाकुरले नेपालमा बिभिन्न भाषाको इतिहास र भोजपुरी भाषाको इतिहासको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सहजिकरण भोजपुरी प्रतिष्ठान वीरगञ्जका सदस्य एवं पत्रकार रितेश त्रिपाठीले गरेका थिए । कार्यक्रममा साहित्यकार, बिभिन्न स्कुलका प्रअ तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।



