काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाँण पक्राउ परेलगत्तै प्रहरीले उनका निजी सचिव केसीलाई पनि पक्राउ गरेको हो ।
पक्राउ परेका खाँण र केसीलाई प्रहरीले महानगरीय प्रहरी परिसर टेकु पुर्याएको छ । सोही प्रकरणमा खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
केसी खाँण गृहमन्त्री हुँदा निजी सचिव थिए । यसका साथै यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने अझै फरार छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिसकेको छ । केसी पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या १२ पुगेको छ ।



