काठमाडाैं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई प्रहरीले आज निवासबाटै पक्राउ गरेको हो ।
यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।
त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।
उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।
यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने अझै फरार छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिसकेकाे छ ।



