काठमाडौं । भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हटाउन ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले ध्यानाकर्षण गरेको छ । मंगलवार तीन बुँदे ध्यानाकर्षणपत्र जारी गर्दै टीआई नेपालले ‘थाहा पाएको मितिले पाँच वर्ष हुने’ प्रावधान सच्याउन ध्यानाकर्षण गरेको हो ।
टीआई नेपालको विज्ञप्तीमा राजनीतिक दवावका कारण तामेलीमा राखिँदै आएका मुद्दाका साथै वर्षौँदेखि जानकारीमा आएर पनि कानुनी कारवाही अघि नबढेका मुद्दाहरु उक्त प्रावधान अनुसार अनुसन्धानका दायराबाट मुक्त हुनसक्ने कारण देखाइ उक्त हदम्याद सच्याउन भनेको हो ।
त्यस्तै, नीतिगत निर्णयको नाममा कुनै पनि व्यक्ति वा समूहको स्वार्थ पूरा गर्न हद वा मापदण्ड निर्धारण गरिनुलाई पनि भ्रष्टाचार मानिनुपर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको माग छ ।
टीआई नेपालले ‘भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि’मा उल्लेख भएअनुसारको बनाउन कानुनी प्रावधान र नियमनकारी निकायहरुलाई चुस्तदुरुस्त बनाउनुपर्ने जनाएको छ । उक्त महासन्धीमा निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई फौजदारी कसूर मान्ने र घुस लिनेदिने दुबैलाई कानुनी दायरामा ल्याउनुपर्ने प्रावधान रहेका कारण त्यसैअनुसार काम गर्नका लागि नियमनकारी निकायहरु चुस्तदुरुस्त रहनुपर्ने उल्लेख गरेको हो ।



