काठमाडौं । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को ९ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट ४ अर्ब ४१ करोड ७३ लाख ८९ हजार रुपैयाँको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा काँकरभिट्टा नाकाबाट १ लाख ८० हजार ८ सय १७ मेट्रिक टन तरकारी तथा फलफूल नेपाल भित्रिएको छ ।
भारतबाट ताजा फलफूलभन्दा झन्डै दोब्बर मूल्य बराबरको तरकारी नेपाल भित्रिने गरेको छ । नौ महिने अवधिमा २ अर्ब ६२ करोड ६३ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको १ लाख ४७ हजार ६ सय ५३ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको पाइएको छ ।
सोही अवधिमा १ अर्ब ७९ करोड १० लाख ३६ हजार रुपैयाँ मूल्य बराबरको ३३ हजार १ सय ६४ मेट्रिक टन ताजा फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइनले जनाएको छ ।



