काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दुध आयात खुलाउन सिफारिस गरेको छ । बोर्डले दैनिक १ लाख लिटर भन्दा बढी भारतबाट दुध आयात गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको हो ।
मन्त्रालयलाई बोर्डले बुझाएको प्रतिवेदन मागअनुसार दुध आपूर्ति हुन नसकेकाले ३ महिनाका लागि दैनिक १ लाख लिटर भन्दा बढी दुध आयात खोल्न सुझाव दिइएको छ । अब मन्त्रालयले यसबारे थप छलफल गरेर दूध आयात खुलाउने/नखुलाउने निर्णय गर्नेछ । गत कात्तिकमा पनि दूध अभाव भएपछि यसैगरी दैनिक परिमाणत्मक बन्देजसहित आयात खोलिएको थियो ।
मन्त्रालयमा डेरी उद्योगहरुले भारतबाट धुलो दूध, कच्चा दूध र बटर आयात गर्न माग गर्दै निवेदन दिएका थिए । मन्त्रालयले उद्योगीको मागबारे छलफल र अध्ययन गरेर सिफारिस प्रतिवेदन बनाउन बोर्डलाई भनेको थियो । बोर्डले धुलो दूधको उत्पादन नेपालभित्रै बढेकाले आयात गर्नुनपर्ने निष्कर्ष निकालेको छ ।
बोर्डले साउन मसान्तसम्म आयात खुलाउन सकिने गरी सिफारिस गरेको छ । सरकारले उद्योगहरुको माग र बोर्डको सिफारिसअनुसार आयात खुला गरेमा नेपालको सीमा जोडिएका भारतीय क्षेत्रको दूध नेपाल भित्रिनेछ ।



