भारतीय मूलका अमेरिकी व्यापार कार्यकारी अजय बंगा विश्व बैंकका नयाँ अध्यक्ष चुनिएका छन् । बिहीबार विश्व बैंकका कार्यकारी निर्देशकहरुले बंगालाई पाँच वर्ष कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेका हुन् । उनको कार्यकाल आगामी जुन २ बाट सुरु हुनेछ ।
उनी यसअघि ‘जनरल एटलान्टिक’ नामक इक्विटी फर्मको उपाध्यक्ष थिए । त्यसअघि उनी मास्टरकार्डका अध्यक्ष तथा सीईओको रुपमा काम गरे । मास्टरकार्ड २४ हजार भन्दा बढी कर्मचारी भएको अन्तर्राष्ट्रिय स्तरको संस्था हो ।
त्यस्तै उनी पछिल्लो तीन वर्ष इन्टरनेशनल चेम्बर अफ कमर्सको मानार्थ अध्यक्ष भएर काम गरेका थिए । बंगा साइबर रेडिनेस इन्स्टिच्युटका सहसंस्थापक हुन् । उनी न्यूयोर्कको इकोनोमिक क्लबका उपाध्यक्ष समेत रहिसकेका छन् ।
सन् २०१९ मा एलिस आइल्याण्ड मेडल अफ अनर र बिजनेस काउन्सिल फर इन्टरनेशनल अंडरस्ट्यान्डिङको ग्लोबल लिडरसिप अवार्ड प्राप्त गर्नुका साथै उनले २०१२ मा विदेश नीति संघ पदक, २०१६ मा भारतका राष्ट्रपतिबाट पद्मश्री पुरस्कार, २०१६ मा पद्मश्री पुरस्कार पनि प्राप्त गरेका थिए।



