काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ ।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले हिमपहिरोमा परी हराएकामध्ये ३ जनाको शव भेटिए पनि बाँकी दुई जनाको अवस्था अझै अज्ञात रहेको बताए ।
“बुधबार ३ वटा शव भेटिएको क्षेत्रतिर बिहानदेखि असईको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ”, उनले भने, “यहाँ रहेका ३ वटा शव आजै परीक्षणका लागि सदरमुकाम खलङ्गा लैजाने विषयमा समन्वय भएको छ ।”
हाल हिमपहिरोमा बेपत्ता ईश्वरी र क्षिमीसोमो नाताले फुपू–भदै रहेका छन् । उनीहरु एक साताअघि मात्रै यार्सागुम्बा सङ्कलनका लागि छाङरु पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
बुधबार सुरक्षाकर्मीको टोलीले दार्चुला दुहँ गाउँपालिका–४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर र डोटीको बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव भेट्याएको थियो ।
यसअघि सशस्त्र प्रहरीको टोलीले यार्सागुम्बा टिप्न गएका सात जनाको उद्धार गरेको थियो । “आज पनि खोजीमा टोली खटिए पनि मौसम अनुकूल भइसकेको छैन”, भट्टले भने, “घटनापछि यार्सा सङ्कलक सुरक्षित स्थानतर्फ झरेका छन् ।” यहाँ रहेका वर्ष दार्चुलालगायतका जिल्लाबाट यार्सा सङ्कलनका लागि आउने गरेका छन् ।



