images
images

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीविरुद्ध पक्राउ पुर्जी जारी


  • 385
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । नेपालका परिचित पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाहेरी दिइएका नामका व्यक्तिका लागि पक्राउ पुर्जी जारी गरिसकिएको छ । परिवारका तर्फबाट कँडेलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावलविरुद्ध किटानी जाहेरी परेको हो । 

    पक्राउ पुर्जी जारी गरी देशभर प्रहरीका युनिटसँग समन्वय गरिएको कार्कीले बताए । उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चिवतनलगायत निजी क्षेत्रको ज्ञापनपत्र बुझ्दै उनले भने, “हामीले पक्राउ पुर्जी जारी गरिसकेका छौँ । अपराध महाशाखा, सिआइबीलगायतको टोलीलाई समेत खबर गरेर देशभरका प्रहरी युनिटसँग समन्वय गरेका छौँ ।” आरोपी भनिएका व्यक्तिलाई कानुनी दायरामा ल्याउने उनले बताए । परिवारले आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गराएका थिए ।

    ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारका विभिन्न निकायमा दर्ता गरी जस्तोसुकै विषयम परिस्थितिमा पनि संयमित भई राज्यलाई कर तिर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको निजी क्षेत्रलाई सरकारको तर्फबाट कुनै किसिमको सहयोग नहुनु दुर्भाग्यपूर्ण रहेको बताए । 

    यसको परिणाम कँडेलले मृत्युको शिकार बन्नुपरेको भन्दै यस्ता घटना रोक्नका लागि समेत दोषीलाई पक्राउ गरी कारबाही गर्न उनले माग गरे । दोषीलाई कारबाही नहुने हो भने अन्य कयौँ व्यवसायीले आत्महत्या गर्न बाध्य हुने भन्दै सङ्घले तत्काल पक्राउ गर्न दबाबस्वरुप आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।

    निजी क्षेत्रको अगुवाइमा बिहीबारदेखि शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गर्नेसमेत जनाइएको छ । आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार जिल्ला प्रहरी कार्यालय चितवन अगाडि ११ः३० बजे धर्ना दिने बिहीबारसम्म पनि दोषी पक्राउ नभए थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए।
     
    मृतक शङ्कर कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर रुङ्टालाई बेचेका थिए । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिए । कँडेल जिल्लाका लोकप्रिय पात्र थिए । ५२ वर्षीय कँडेल भरतपुर महानगरपालिका–८ निवासी हुन्  ।


    images
    images

    Logo