काठमाडौं । नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउन सहयोग गर्ने गृहका पूर्वसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गिरोहका सदस्यहरुको बयानका आधारमा हाल उपराष्ट्रपति कार्यालयका कार्यरत टेकनारायण पाण्डेलाई बुधबार पक्राउ गरिएको हो । प्रहरीले बुधबार पाण्डेलाई पक्राउ गर्न पक्राउ पुर्जी लिएको थियो ।
मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए । भक्तपुर आसपासको जंगलमा आफू रहेको प्रहरीले सुइँको पाएको थाहा भएपछि उनी त्यहाँबाट हिँडेका थिए । त्यही क्रममा उनी जडिबुटीबाट पक्राउ परेका हुन् ।
उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि पाण्डे गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको पाण्डेमाथि आरोप छ । प्रहरीको हिरासतमा हुनेहरूले सचिव पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएका थिए ।



