images
images

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर  


  • 295
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर  

    काठमाडौं । नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर १ हजार ३ सय ९९ अर्थात् १ लाख ८२ हजार ५ सय ८३ रुपैयाँ बराबर पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर १ हजार ३ सय ९९ र प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन अमेरिकी डलर १ हजार ४ सय १० बराबर देखिएको हो ।
       
     यसवर्ष नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर उपभोक्ता मूल्यमा १.८५ प्रतिशत र आधारभूत मूल्यमा २.१३ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक बर्षमा नेपालको जिडिपीको आकार आधारभूत मूल्यमा ४६ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँ र उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ । 

    जिडिपी अनुपातमा नेपालको कूल स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) २५.२१ प्रतिशत अर्थात् १३ खर्ब ५६ अर्ब ४६ करोड रुपैयाँ बराबर पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै अन्तिम उपभोग खर्च (फाइनल कन्जम्सन एक्सेन्डिचर) जिडिपी अनुपातको ९३.५९ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । त्यो ५० खर्ब ३६ अर्ब १५ करोड रुपैयाँ बराबर हो ।

    जिडिपी अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यातको हिस्सा ७.१५ प्रतिशत बराबर छ । यसवर्ष ३ खर्ब ८५ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरिने अनुमान गरिएको छ । जिडिपी अनुपातमा वस्तु तथा सेवाको आयात भने ३६.५ प्रतिशत बराबर छ । नेपालले यस वर्ष १९ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ बराबर आयात गर्ने ठानिएको छ ।
        
    त्यसैगरी चालु मूल्यमा राष्ट्रिय बचत (ग्रस नेसनल सेभिङ) कूल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत बराबर छ । त्यस्तै जिडिपीमा विप्रेषणको अनुपात २२.८९ प्रतिशत बराबर हुने ठानिएको छ । चालु आर्थिक बर्षको जिडिीपमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहने अनुमान गरिएको छ । गत आर्थिक बर्षमा कृषि क्षेत्रले जिडिपीमा २४.६७ प्रतिशत बराबर हिस्सा ओगटेकामा यसवर्ष त्यो घटेर २४.१२ प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ । 

    तथ्याङ्क कार्यालयले चालु आर्थिक बषको पछिल्लो ९ महिना अवधिको तथ्याङ्क विश्लेषण गरेर वार्षिक अनुमान सार्वजनिक गरेको हो ।


    images
    images

    Logo