काठमाडौं । सन् २०२३ को ४ महिनामा विदेशी पर्यटक आगमन १ सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म १ लाख ४० हजार ३ सय ३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा तीन लाख २६ हजार ५ सय २७ पर्यटक आएका छन् ।
कोरोना महामारीपूर्व सन् २०१९ को समीक्षा अवधिमा ४ लाख २० हजार ४ सय ४६, सन् २०२० मा २ लाख २० हजार ६ सय ८२, सन् २०२१ मा ५५ हजार ४ सय ४७ र सन् २०२२ मा १ लाख ४० हजार ३ सय ३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
पछिल्लो अप्रिल महिनामा मात्रै ९८ हजार ७ सय ७३ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो मार्च महिनामा ९९ हजार ४ सय २६, फेब्रुअरीमा ७३ हजार २ सय ५५ र जनवरीमा ५५ हजार ७४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को तुलनामा ९० प्रतिशत पर्यटक बढेका छन् । “चार महिनाको तुलनामा सन् २०१९ को हाराहारीमा पर्यटक आगमन भएको देखिन्छ । यो हवाई मार्ग भएर आएको आँकडा हो, अप्रिलको तुलनामा ९० प्रतिशत पुनरुत्थान भएको छ”, उनले भने ।
पर्यटक आगमनको प्रवृत्ति हेर्दा चिनियाँ पर्यटक उत्साहबद्र्धकरूपमा बढेको निर्देशक लामिछानेले उल्लेख गरे । फेब्रुअरीमा करिब १ हजार ८ सय चिनियाँ पर्यटक आएकामा मार्चमा ३० प्रतिशतले बढेर २ हजार ६ हजार पर्यटक आएका थिए भने अप्रिल महिनामा ८१ प्रतिशतले बढेर ४ हजार ७ सय ७० चिनियाँ पर्यटक नेपाल आएका छन् ।
पर्यटक बढी आउने १० मुलुकमध्ये चीन चौथो नम्बरमा छ । पहिलो स्थानमा रहेको भारतबाट सबैभन्दा बढी ३१ हजार ४ सय ३७ पर्यटक आएका छन् । अमेरिकाबाट ८ हजार ४ सय १३, बेलायतबाट ५ हजार ४ सय ९, अष्ट्रेलियाबाट ३ हजार ८ सय २८, जर्मनीबाट ३ हजार ४ सय ४६, फ्रान्सबाट ३ हजार २ सय ११, रसियाबाट २ हजार ६ सय ६७, बङ्गलादेशबाट २ हजार २ सय १७ र थाइल्याण्डबाट २ हजार १ सय २ पर्यटक नेपाल आएका छन् ।
यो विवरण हेर्दा महामारीपछि पर्यटन पुनरुत्थान भएको देखिन्छ । महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष ६ लाख १४ हजार १ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने १ लाख ५० हजार ९ सय ६२ पर्यटक नेपाल आएका थिए ।



