images
images

मध्यपश्चिम विश्वविद्यालयविरुद्धको आरोप पुष्टि गर्न राष्ट्रियसभा सदस्य विष्टलाई भिसी सिंहको चुनौती 


  • 213
    SHARES
  • २०८० बैशाख १७ गते आइतबार

    मध्यपश्चिम विश्वविद्यालयविरुद्धको आरोप पुष्टि गर्न राष्ट्रियसभा सदस्य विष्टलाई भिसी सिंहको चुनौती 

    काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भ्रामक र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै खण्डन गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वविद्यालयका उपकूलपति प्रा.डा नन्दबहादुर सिंहले सांसद विष्टको अभिव्यक्तिमा कुनै सत्यता नभएको दाबी गरेका हुन् । साथै, उक्त आरोपहरु प्रमाणित गर्नसमेत उनले विष्टलाई चुनौती दिए । 

    राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले गत वैशाख १५ गतेको राष्ट्रिय सभा बैठकमा भिसीले विश्वविद्यालयलाई प्राइभेट कम्पनी बनाएको, अर्थ मन्त्रालयको निर्देशनविपरित विज्ञापन गरेको, स्वीकृत दरबन्दी भन्दाबढी कर्मचारी नियुक्ति गरेको, सेलेबस नै नभएको विषय अध्यापन गराएको, कार्यालय सहयोगीमा नियुक्त गरेको मान्छेलाई सुब्बा हुँदै अधिकृत बनाएको, भिसीले काठमाडौंमा बसेर करोडौंको डिल गरिरहेको लगायतका आरोप लगाएका थिए । सो क्रममा उनले छानविनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । 

    भिसी सिंहले राष्ट्रिय सभा सदस्य विष्टको अभिव्यक्ति खण्डन गर्दै आफूहरुले सन् २०१५ देखि नै आईटी पढाउन थालेको स्पष्ट पारे । अध्ययनको शिलशिलामा वर्षेनी अरबौं रुपैयाँ विदेश गइरहेको बेला आफूहरुले आईटी, मेडिकल साइन्स, फरेस्टीलगायतका विषयमा अध्यापन सुरु गरेको उनले बताए । 

    आफूले नै विश्वविद्यालयको भ्रष्टाचार नियन्त्रणका लागि कार्यविधि बनाएको र आफूले नेतृत्व लिँदै गर्दा साढे चालिस करोड बेरुजु रहेको विश्वविद्यालयमा अहिले आफूले घटाएर तीन करोड ५२ लाख रुपैयाँमा झारेको बताए । नेपालका विश्वविद्यालयहरुमा सबैभन्दा बढि बेरूजु फछर्यौट भएको विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय भएको उनको दाबी छ । 

    पत्रकार सम्मेलनलगत्तै जारी गरिएको विज्ञप्तीमा विश्वविद्यालयले डीनको कार्यालयको सिफारिसको आधारमा डीन कार्यालय मातहतका विभाग, स्कुल तथा आंगिक क्याम्पसहरुमा पठनपाठनको लागि केही विषयहरुमा आंशिक र केही विषयहरुमा आन्तरिक स्रोत तर्फको करारमा शिक्षण तथा प्रशासन तर्फ गरी चालु आ.व. २०७९÷०८० मा ३५ जना भन्दा कम संस्थामा खुला विज्ञापन आह्वान गरिएको बताएको छ । उक्त विज्ञापन आन्तरिक स्रोत तर्फको विज्ञापन भएकोले अर्थ मन्त्रालयको स्वीकृति आवश्यक नपर्ने विश्वविद्यालयको दाबी छ । साथै, कार्यालय सहयोगीमा नियुक्त गरी सोही व्यक्तिलाई सुब्बामा नियुक्ती गरिएको र पुनः उक्त व्यक्तिलाई अधिकृतमा नियुक्ति गरिएको भन्ने आरोपमा उक्त आरोप पुष्टी चुनौती दिइएको छ ।  

    उपकूलपतिले काठमाडौं बसेर करोडौंको डिल गरेको आरोप पुष्टि गर्नसमेत राष्ट्रिय सभा सदस्य विष्टलाई चुनौति दिइएको छ । उनले लगाएका आधारहीन एवं कपोकल्पीत मनगढन्ते आरोपले उनको विश्वसनीयतामाथि प्रश्न चिन्ह खडा भएको विज्ञप्तिमा उल्लेख छ । 

    उपकुलपति सिंहले आफू विश्वविद्यालय सुधारका लागि नै आएको उनको दाबी छ । भ्रष्टाचारको विरुद्धमा शुन्य सहनशीलता र पारदर्शीता आफ्नो मूल मन्त्र भएको उनले बताए । 

    ‘मेरो एकजना छोरी छन्, छोरा छैन । मध्यपश्चिम विश्वविद्यालयलाई छोरा बनाउँछु भनेर आएको हुँ । मेरो आमा र बुबा हुनुहुन्न उहाँको नाममा भन्छु– एक रुपैयाँ भ्रष्टाचार गर्दिन । म भ्रष्टाचार गर्छु गर्दिन त्यहाँका जनतालाई सोधे थाहा हुन्छ,’– भिसी सिंहले भने । 

    मध्यपश्चिम विश्वविद्यालयको सबै ठिम खुल्ला प्रतिस्पर्धाबाट बनेकोसमेत उनको दाबी छ । खुल्ला प्रतिस्पर्धाको सुरुवात नै मध्यपश्चिम विश्वविद्यालयबाट सुरुभएको उनको भनाइ छ । शिक्षा, खेलकुद, स्वास्थ्य, नेपालको शैक्षिक निकायलाई राजनीतिकरण र न्यायलयलाई राजनीतिकरणबाट मुक्त गर्न पनि उनले राजनीतिक दललाई आग्रह गरे । 


    images
    images

    Logo