काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रमा अनुमति नलिई कुनै पनि प्रकारको फोटो र भिडियो खिच्न नदिने भएको छ ।
प्राधिकरणले सबै नागरिक उड्डयन कार्यालयलाई पत्र लेख्दै यो नियम कडाइपूर्वक कार्यान्वयन गर्न भनेको छ । प्राधिकरणको दिएको एभिएसन सेक्युरिटी अर्डरमा ‘अनुमतिविना विमानस्थलको निषेधित क्षेत्रमा प्राधिकरण, वायुयान सञ्चालन संस्था, विमानस्थलमा कार्यरत अन्य निकायसँग सम्बद्ध कर्मचारी तथा सर्वसाधारणले कुनै पनि प्रकारका तस्वीर तथा भिडियोग्राफी गर्न पूर्ण रुपमा बन्देज लगाउन भनिएको छ ।
पछिल्लो समय विमानस्थलको निषेधित क्षेत्र, वायुयान ककपिटजस्ता उडान सुरक्षा तथा हवाई सुरक्षाको दृष्टिकोणले संवेदनशील क्षेत्रमा तस्वीर खिच्ने, भिडियोग्राफी गर्ने र त्यस्ता सामग्री फेसबुक, टिकटक, इन्स्टाग्राम, म्यासेन्जर, भाइबर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा अपलोड हुने गरेको भन्दै प्राधिकरणले आफू मातहतका कार्यालयहरुलाई यस्तो कार्य रोक्न भनेको हो ।



