images
images

फ्लाई दुबईका २ अधिकारीलाई क्यानको कारवाही 


  • 297
    SHARES
  • २०८० बैशाख १२ गते मंगलबार

    फ्लाई दुबईका २ अधिकारीलाई क्यानको कारवाही 

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले दुई अधिकारीलाई कारवाही गरेको छ । विमानमा आएको समस्याबारे गलत सूचना फैलाइएको भन्दै ती कर्मचारीलाई कारबाही गरेको हो । प्रमाणविना दुबईबाट गलत सुचना फैलाउने नेपालस्थित फ्लाइ दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास तत्कालका लागि रोक्का गरिएको प्राधिकरणले जनाएको छ । 

    सोमबार राती युएईका लागि उडेको विमानमा समस्या देखिएको थियो । पाइलटले एसटीसी टावरलाई विमानको इञ्जिनमा समस्या देखिएको जनाएको थियो । तर, फ्लाइ ती अधिकारीले भने विमानमा चरा ठोक्किएर समस्या भएको बताएका थिए । 

    जहाजको इञ्जिन खराब भएर समस्या देखिँदा त्यसमा नेपाली आकाशको सुरक्षाको बारेमा प्रश्न उठ्दैन । तर, चरा ठोक्किएको घटनाले प्राधिकरण र समग्र नेपालको हवाइ सुरक्षामाथि प्रश्न उठ्छ । ती अधिकारीले भ्रम फैलाउँदा प्राधिकरणको विश्वसनीयतामा प्रतिकुल प्रभाव परेको थियो । 

    सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाईदुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो । 

    एफजेट–५७६ उडान नम्बरको जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई ‘आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको’ जानकारी दिएका थिए  । उनीहरूले टावरका एटीसीलाई जहाज एउटा इन्जिनको भरमा उचाइमा चढिरहेको तर आकस्मिक अवतरण गर्न काठमाडौंमै फर्किने बताए पनि पछि उक्त जहाज दुबई नै गएको थियो । 

    नेपाली समय अनुसार राति दुई बजे (स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको थियो । यो घटनाका कारण फ्लाई दुबई विमानको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समय (स्थानीय समयअनुसार राति ११ बजे) एक घण्टा पछि धकेलियो ।


    images
    images

    Logo