काठमाडौं । खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह भारतको पञ्जावबाट पक्राउ परेका छन् । अमृतपाल सिंह पन्जाबकै मोगा भन्ने स्थानबाट आइतबार बिहान पक्राउ परेका हुन् ।
शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् । त्यो संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो । अमृतपाल सिंहको बारेमा प्रतिनिधि सभामा पनि कुरा उठेको थियो ।
तर पन्जाब प्रहरीले अमृतपाल सिंह पन्जाबकै मोगा भन्ने स्थानबाट पक्राउ परेको जनाएको छ ।लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पन्जाब फर्किएका थिए । त्यसपछि उनले अमृत सन्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरुलाई संगठित गर्न सुरु गरेका थिए । पन्जाबबाट उनका थुप्रै समर्थकहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । अमृतपाल भने लुकेर बस्दै आएका थिए ।
भारतीय दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा पञ्जाबबाट फरार भएका सिंहलाई नेपाल हुँदै तेस्रो मुलुक यात्रा गर्न सक्ने भन्दै अनुमति नदिन आग्रह गरेको थियो । पत्रमा सिंह नेपालमा लुकेर बसेको भन्दै नेपालबाट भाग्न खोजे पक्राउ गर्न आग्रह गरिएको थियो ।



