काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ ।
भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको अवलोकनका लागि मात्र आर्थिक वर्ष २०७९/८० को नौ महिनामा १ लाख १६ हजार ८ सय १२ विदेशी पर्यटकको आगमन भएको छ । चालु आर्थिक बर्षको चैतसम्म भक्तपुरको अवलोकनमा आउने पर्यटक बढ्दै गएको र यस अवधिमा एक लाखभन्दा बढी पर्यटक आउँदा पर्यटन व्यवसायमा आशा पलाएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।
उनले भने, “चालु आर्थिक बर्षको चैतसम्म भक्तपुरमा ६७ हजार सात सय जना गैरसार्क राष्ट्रका र ४९ हजार एक सय १२ जना चीनसहितका सार्क राष्ट्रका पर्यटकको आगमन भएको छ ।”
गत आर्थिक बर्ष २०७८÷७९ को सोही अवधिमा भक्तपुर नगर क्षेत्रका सम्पदाको आवलोकनका लागि गैरसार्क राष्ट्रबाट ११ हजार ४ सय ४० र सार्क राष्ट्र तथा चीनबाट ११ हजार ७ सय २७ गरी कुल २३ हजार १ सय ६७ पर्यटकको आगमन भएको थियो ।
गत आर्थिक बर्षको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा गैरसार्क राष्ट्रबाट ५६ हजार दुई सय ६० र चीनसहितका सार्क राष्ट्रबाट ३७ हजार ३ सय ८५ गरी कुल ९३ हजार ६ सय ४५ बढी पर्यटकको आगमन भएको छ । यस अवधिमा भक्तपुर नगरपालिकाले गत वर्षको नौ महिनामा भन्दा ११ करोड १४ लाख ३१ हजार ५ सय रुपैयाँ बढी पर्यटन शुल्क सङ्कलन गरेको छ ।
गत आर्थिक बर्ष २०७८÷७९ को समीक्षा अवधिमा नगरपालिकाले कुल २ करोड ३० लाख २३ हजार ५ सय रुपैयाँ पर्यटन शुल्क सङ्कलन गरेकामा चालु आर्थिक बर्षको यो ९ महिनामा नगरपालिकाले गैरसार्कका पर्यटकबाट १० करोड ९८ लाख ९९ हजार आर्थिक बर्ष र सार्क राष्ट्र तथा चीनका पर्यटकबाट २ करोड ४५ लाख ५६ हजार आर्थिक बर्ष गरी कुल १३ करोड ४४ लाख ५५ हजार आर्थिक बर्ष पर्यटन शुल्क सङ्कलन गरेको छ ।
भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग नेरु १ हजार ५ सयबाट ३ शुल्क वृद्धि गरि १ हजार ८ सय रुपैयाँ कायम गरी शुल्क सङ्कलन गर्दै आएको हो ।
भक्तपुर नगरमा हाल दैनिक पाँचदेखि छ सयको हाराहारीमा विदेशी पर्यटक आगमन हुने गरेको छ । भक्तपुर घुम्न प्रायः भारत, चीन, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकका पर्यटकको आगमन बढ्न थालेको नगरप्रमुख प्रजापतिले बताए ।
भक्तपुर अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र भएको छ । पर्यटकको चहलपहल बढेसँगै यहाँका विभिन्न पेसा व्यवसायीमा पनि आर्थिक गतिविधि बढ्न थालेको छ । भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा हाल यो एक वर्षमा १४ वटा सम्पदाको पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न गरेको र अन्य दर्जनौँ सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार जारी राखेको बताएको छ ।
अघिल्लो पाँच वर्षमा भक्तपुर नगरपालिकाले एक सय २४ वटा सम्पदा जनताको आर्थिक, भौतिक र नैतिक सहयोगमा नगरपालिकाको लगानीमा निर्माण सम्पन्न गरिएको थियो ।



