काठमाडौं । नौ महिनामा करिब २ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना (गत साउनदेखि चैत मसान्तसम्मको) तथ्याङ्क अनुसार २ सय १६ उद्योगका लागि १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ ।
चैत महिनामा मात्रै स्वदेशी तथा विदेशी लगानीका ३३ वटा उद्योगका लागि २५ अर्ब ४४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७३ हजार ८ सय ६७ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । चैत महिनामा मात्रै ३ हजार ६ सय १२ जनालाई रोजगारी दिने उल्लेख छ ।
यस्तै, ९ महिनामा २ सय ५३ वटा विदेशी लगानीका उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ३१ हजार ४ सय ४६ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जसमा चैतमा ८ अर्ब ९१ करोड १२ लाख ६४ हजार ६ सय ९० रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा २ अर्ब ६४ करोड ९ लाख रुपैयाँ, भदौमा ३ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ, असोजमा १ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ र कात्तिकमा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
यस्तैगरी, मङ्सिरमा ८० करोड ८ लाख रुपैयाँ, पुसमा ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ, माघमा १ अर्ब ३९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ को साउनमा ५ अर्ब ५३ करोड ५० लाख रुपैयाँ, भदौमा ६ अर्ब ३२ करोड रुपैयाँ, असोजमा ११ अर्ब ९६ करोड ५ लाख रुपैयाँ, कात्तिकमा ९८ करोड रुपैयाँ, मङ्सिरमा ५ अर्ब १५ करोड ५१ लाख रुपैयाँ, पुसमा ६१ करोड २० लाख रुपैयाँ, माघमा ५३ करोड ९५ लाख रुपैयाँ र फागुनमा २ अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा करिब साढे १४ अर्ब नेपाली रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५ सय ५९ रुपैयाँ लाभाशंबापत रकम फिर्ताको सिफारिस भएको हो ।
विभागले ९ महिनामा रोयल्टीबापत २ अर्ब ११ करोड ६ हजार ६ सय ३४ रुपैयाँ, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ । विभागले चैत महिनामा लाभाशंबापत ३ अर्ब १४ करोड ५३ लाख २२ हजार २ सय ३५ रुपैयाँ विदेश लैजान सिफारिस गरेको हो ।
यस्तै, रोयल्टीबापत चैत महिनामा २० करोड ६० लाख ९ हजार ५ सय २६ रुपैयाँ, ७३ हजार ३ सय १३ अमेरिकी डबर, १५ लाख ४५ हजार ७ सय ८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो । यस्तै, चालु आवको नौ महिनामा विभागले व्यवसायी भिसा अन्तरगत १ हजार २ सय २४ जना लगानीकर्ता, १ सय ८६ जना प्रतिनिधि र ५ सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ ।
चैत महिनामा मात्रै विभागले १ सय ६६ लगानीकर्ता, ४५ प्रतिनिधि र १ सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ ।



