काठमाडौं । जिल्ला प्रशासन कार्यालय तनहुँले वैशाख १० मा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै सो दिन अत्यावाश्यक बाहेकका सवारी साधान चलाउन निषेध गरेको छ । कार्यालयले सुचना जारी गर्दै तनहुँ निर्वाचन क्षेत्र नम्बर १ भित्र अत्यावश्यक बाहेक कुनैपनि सवारी साधन चलाउन नपाइने जनाएको हो ।
मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ बमोजिम अत्यावश्यक एम्बुलेन्स, दमकललगायतका सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । सो दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उपनिर्वाचन हुने क्षेत्रका राजमार्ग एवं भित्री सडकमा सवारीमा रोक लगाइएको छ ।
निर्वाचनलाई लक्षित गर्दै निर्वाचन हुने क्षेत्रभित्र मदिरा बिक्री वितरणका लागि रोक लगाइएको छ । यही वैशाख ७ गते रातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरणमा रोग लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सो क्षेत्रभित्र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।
राष्ट्रिय राजमार्गको मुग्लिङ–दमौली चापाघाटसम्म भने सुरक्षाकर्मीको स्कर्टिङमा यातायात सन्चालन गरिने प्रशासनले जनाएको छ ।



