भक्तपुर । मध्यपुर थिमि आज जिब्रो छेड्ने जात्रा मनाइदै छ । एतिहांसिक सो जात्रामा स्थानीय देखि मुलुकमा विभिन्न स्थानका हजारौंको सहभागिता रहंदै आएको छ ।
मध्यपुर थिमि नगरपालिका–८ बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडेर बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेड्ने परम्परालाई निरन्तरता दिदै छन् । जिल्लाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ मा मध्यपुर थिमि बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
गत बर्ष सम्म सुजनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नौपल्ट जिब्रो छेडाएका थिए । दुई दशकभन्दा बढी जिब्रो छेड्ने जात्राको परम्परा सुजनकै परिवारले धानिसकेका छन् । ‘बुबा बुद्धकृष्णले ९ पल्ट, ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पल्ट जिब्रो छेडाएर संस्कृति धानिसक्नुभयो,’ उनले भने, ‘उहाँहरुले जोगाउनुभएको संस्कृति बचाउने जिम्मेवारी मेरो काँधमा आएको छ ।’
जिब्रो छेड्ने परम्परा जोगाउन बोडेबासीमध्येबाट पनि श्रेष्ठ थरकै नेवार व्यक्ति चाहिने परम्परा छ । तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिने चलन छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ ।
जिब्रो छेड्दा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ । विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नुअघि शक्तिपीठको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ ।
वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च मनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ । जिब्रो छेडाएर नगर परिक्रमा गराए देशमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ ।
स्थानीयका अनुसार बुद्धकृष्णले ९, कृष्णचन्द्रले १२, हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभाषिक श्रेष्ठले ३ पटक जिब्रो छेडाएका छन् । त्यसैगरी इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, बुद्धचन्द्र बागश्रेष्ठले ७, जुजुभाइबास श्रेष्ठले ८ जिब्रो छेडाएर मौलिक परम्परा धानेका छन् ।



