images
images

सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब नाघ्यो 


  • 323
    SHARES
  • २०८० बैशाख १ गते शुक्रबार

    सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब नाघ्यो 

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ नाघेको देखिएको हो । अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च सवा २.९ प्रतिशत विन्दुले बढी हो ।

    यो अवधिसम्ममा सङ्कलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ भने पुँजीगत खर्च निकै कम छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार नौ महिनामा सरकारले वार्षिक विनियोजनको ५२.५७ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएकोमा चैत मसान्तसम्ममा ९ खर्ब ४३ अर्ब ५ करोठ १६ लाख रुपैयाँ बराबर खर्च भएको देखिएको हो ।
         
    चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । चैत मसान्तसम्ममा यो शीर्षकमा ५९.७३ प्रतिशतअर्थात् ७ खर्ब छ अर्ब ७६ लाख ५९ हजार रुपैयाँ बराबर खर्च भएको छ ।
         
    पुँजीगत शीर्षकमा यस वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबर बजेट विनियोजन भएकोमा हालसम्म २८.१९ प्रतिशतअर्थात् १ खर्ब ७ अर्ब २४ करोड ३४ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ ।
         
    त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा चालु आर्थिक वर्षका लागि २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ  बराबर विनियोजन भएकोमा चैत मसान्तसम्म ५६.०५ प्रतिशत अर्थात् १ खर्ब १९ अर्ब ४ करोड २३ लाख रुपैयाँ बराबर खर्च भएको छ । यो अवधिमा पुँजीगतभन्दा वित्तीय व्यवस्थातर्फको बजेट खर्च बढी देखिएको छ ।

    चैत मसान्तसम्ममा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४९.६७ प्रतिशत बराबर मात्रै देखिएको छ । चालु आवका लागि सरकारले कूल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म ७ खर्ब २४ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ बराबर मात्रै राजस्व सङ्कलन भएको देखिएको हो ।

    यो अवधिमा आन्तरिक राजस्व वार्षिक लक्ष्यको ४८.७३ प्रतिशत बराबर छ । कूल १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपैयाँ बराबर आन्तरिक राजस्व उठाउने वार्षिक लक्ष्य राखिएकोमा हालसम्म ६ खर्ब ८३ अर्ब ८० करोड ५९ लाख रुपैयाँ बराबर मात्रै सङ्कलन भएको देखिएको हो । त्यस्तै यस वर्ष ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म ८.६६ प्रतिशतअर्थात् ४ अर्ब ८० करोड २० लाख रुपैयाँ बराबर मात्रै आएको छ ।


    images
    images

    Logo