images
images

पाइप डढेपछि खानेपानीको समस्या


  • 355
    SHARES
  • २०८० बैशाख १ गते शुक्रबार

    पाइप डढेपछि खानेपानीको समस्या

    स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोक र वडा नं ६ को पाखुरेमा खानेपानीको समस्या भएको छ । वनमा आगलागी हुँदा गाउँमा ल्याइएको खानेपानीको पाइप डढेपछि पानीको हाहाकार भएको हो । यसबाट यहाँका ३७ परिवार प्रभावित बनेका छन् ।

    छरछरे–पाँडेथोक सिँचाइ तथा खानेपानी योजनाअन्तर्गतको करिब एक किलोमिटर पाइप मङ्गलबार र बुधबार लागेको आगोले डढेपछि गाउँमा खानेपानी आउन बन्द भएको उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ लामिछानेले बताएउ । “मुहानबाट मैदानसम्म ल्याइएको पानीको पाइप आगोले डढेर पूर्णरूपमा नष्ट भएको छ”, उनले भने, “मुहानबाट मैदानसम्म आएको पानीलाई सोलारमार्फत तानेर घर–घरमा वितरण गरिएको छ ।”

    मुहानबाट गाउँसम्म दुई इन्चको पाइपमा करिब एक हजार छ सय ५० मिटर परबाट ल्याइएको छ । विसं २०६३ मा मूल दर्ता गरी २०६४ सालमा योजना सम्पन्न भई यहाँका बासिन्दाले घर–घरमै पानी उपभोग गर्दै आएका थिए । “आगलागीबाट क्षति भएपछि अहिले पानीको हाहाकार भएको छ”, उनले भन्नुभयो, “गोलभेँडाको पकेट क्षेत्र भनेर चिनिएको यस ठाउँमा मौसमी तथा बेमौसमीरूपमा लगाइएका विभिन्न प्रजातिका तरकारी ओइलाएर मर्ने क्रममा पुगेका छन् ।”

    वडा नंं ५ का सदस्य रामप्रसाद लामिछानेले पूरै पाइप फेर्ने बजेट नभएकाले नगरपालिका तथा सम्बन्धित कार्यालयसँग सहयोग मागेको बताए । पानीका स्रोत सुकेकाले पनि खानेपानीको बढी अभाव भएको छ । “एक गाग्री पानीका लागि पालो पर्खिनुपर्छ । पधेँरासम्म जान र आउनमात्रै आधा घण्टा लाग्छ”, उनले भने । लामो समय खडेरी परेका कारण वालिङ तथा त्यसआसपासका क्षेत्रमा दैनिकजसो डढेलो तथा आगलागीका घटना घटिरहेका छन् ।


    images
    images

    Logo