images
images

समुन्नतिको सपना पूरा गर्नैपर्ने ८० को दशक


  • 262
    SHARES
  • २०८० बैशाख १ गते शुक्रबार

    समुन्नतिको सपना पूरा गर्नैपर्ने ८० को दशक

    काठमाडौं । नयाँ बर्ष २०८० सँगै ८० को दशक शुरू भएको छ । यो दशकले नेपालका लागि नयाँ सम्भावना, अवसर र बाध्यताको अवस्था एकैपटक लिएर आएको छ । 

    लामो समयदेखि मुलुक राजनीतिकै सेरोफेरोमा मात्रै अल्झिँदै आयो । २०४६ सालदेखि २०८० लाई मात्र हेर्ने हो भने पनि ३४ बर्षमा धेरै राजनीतिक परिवर्तन भएका छन् । तर, जतिसुकै राजनीतिक परिवर्तन भएपनि मुलुक र मुलुकवासीको अवस्था फेरिनुको सट्टा झन् झन् दयनीय हुँदै गएको छ ।
     
    हजारौं सर्वसाधारणले ज्यानको आहुती दिएर प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र ल्याए । राजाको स्थानमा जनताकै छोरो राष्ट्रप्रमुख हुने व्यवस्था भए पनि सर्वसाधारणका समस्या ज्युँ का त्युँ छन् । अझ भन्ने हो भने मुलुक र मुलुकवासीको अवस्था झन् झन् दयनीय बन्दैछ । राजनीतिक दल र तिनको नेतृत्व गर्ने नेतालाई धेरै पटक मौका दिए पनि उनीहरूले सर्वसाधारणको हितमा काम नगर्दा मुलुकको अवस्था झन गिर्दो छ । 

    कृषि प्रधान मुलुकमा ५० अर्व बढीको खाधान्न आयात गर्नुपर्ने अवस्था आएको छ भने औधोगिक वातावरण नहुँदा भएका उधोग पनि बन्द हुँदै गएका छन् । 

    स्वदेशमा नयाँ रोजगारी सिर्जना हुन नसक्दा २५ लाख भन्दा बढी युवा खाडी मुलुकमा ज्यान जोखिममा राखेर काम गर्न बाध्य छ्न । उनीहरूले पठाएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र जेनतेन चलेको छ । तर, उनीहरूलाई न्युनतम सुविधा दिलाउन सरकारको ध्यान पुगेको छैन । स्वदेशमा रोजगारी लगायतका वातावरण  नभएकै कारण उच्च शिक्षा लिने नाममा १० लाख भन्दा बढी युवाहरू अमेरिका, अष्ट्रेलिया, युरोप लगायतका मुलुक पुगेका छन् । ती युवासँगै खर्वौ रकम विदेशीएको छ । त्यो क्रम अहिलेसम्म पनि बढ्दो छ । 

    अध्ययन र रोजगारीका नाममा शिक्षित र अर्ध शिक्षित अधिकांश युवा विदेशिएपछि गाउँ महिला र वृद्धवृद्वा वा बस्ने स्थानका रूपमा परिणत भएका छन् । कारण, खेती योग्य जमिन लामो समय बाँझो रहँदा बर्षेनी कृषि उत्पादनमा गिरावट आइरहेको छ । पहिले तीनबाली उत्पादन हुने त्यस्ता जमिनमा पछिल्लो समय एक बाली मात्र उत्पादन हुँदै आएको छ । त्यति मात्र होइन, स्वदेशी जनशक्ति पलायन भएपछि स्थानीय स्तरमा हुने बिकास निर्माणका लागि भने  बिदेशी कामदार ल्याउनुपर्ने अवस्था छ । 

    पछिल्लो समय मुलुकमा आर्थिक संकटका कारण समग्र आर्थिक सूचकांक नकारात्मक रहेपनि राज्य सञ्चालन गर्नेहरूले त्यसलाई वेवास्ता गर्दा समग्र आर्थिक अवस्था बिग्रदो छ । बैंकको व्याज झण्डै दोव्वरले बढ्दा किस्ता र व्याज तिर्न नसकेर कालो सुचीमा पर्नेको संख्या बढ्दै गएको छ । सोही कारण, औधोगिक, व्यापारिक वातावरण बिग्रेर पुँजी पलायन हुने सम्भावना बढेको छ ।

    व्यापार व्यवसायमा मन्दीको असर पर्दा   बैंकबाट कर्जा लिने कतिपयले किस्ता व्याज तिर्न नसकेर आत्महत्या गर्न बाध्य हुँदा पनि देश हांक्ने नेताको घैटामा घाम लागेको छैन । अहिलेका नेताहरूले देश सञ्चालन गरेको साढे तीन दशक बितिसकेको छ । अब पनि यो वा त्यो बाहना गर्ने छुट नेताहरूलाई छैन । नयाँ बर्षले देश हाँक्नेहरूलाई सत्ता, कुर्सी र पैसाकै पछि लागेर होइन, देश र जनतालाई मध्यनजर राख्दै काम गर्ने सद्बुद्वी दिउँन । नयाँ बर्षको यही छ, शुभकामना ।


    images
    images

    Logo