images
images

अर्थमन्त्रीलाई एडिबीको बैठकमा भाग लिन स्वीकृति


  • 202
    SHARES
  • २०७९ चैत्र ३० गते बिहीबार

    अर्थमन्त्रीलाई एडिबीको बैठकमा भाग लिन स्वीकृति

    काठमाडौं । सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

    यही चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ९ देखि १२ गतेसम्म मङ्गोलियामा आयोजना हुने एसियाली उत्पादकत्व सङ्गठनको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग)लाई स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए ।
     
     बैठकले आगामी वैशाख १३ देखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनाललाई सहभागी हुन स्वीकृति दिएको छ । यसैगरी बैठकले उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद् (गठन) आदेश, २०७५ को अनुसूची संशोधन गर्ने, व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
     
    बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने, प्रशोधित फोहोर पानी उत्सर्जनसम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । 

    सरकारले सुपर काबेली खोला क्यास्केड जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको २.२८ हेक्टर, जुम खोला जलविद्युत् आयोजनाका लागि गौरिशङ्कर संरक्षण क्षेत्रको राष्ट्रिय वनको १५.१७२ हेक्टर र सुपर काबेली ए जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वन क्षेत्रको २.२८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।
     
     जुगल हिमशृङ्खलाअन्तर्गतका हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्ने, सन् २०२३ को वसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरी र अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को झण्डा फहराउने कार्यका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई सगरमाथा आरोहणका लागि लाग्ने सलामी दस्तुत छुट दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिए । 

    बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूह र उपसमूहको दुई राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिक सहसचिव पदमा नियुक्ति गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।


    images
    images

    Logo