रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ व्लक अन्तर्गतका २ सय ५० घर धुरीलाई जग्गा धनी लाल पुर्जा वितरण गरेको छ ।
नापी कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले बडा नम्बर २, ४ र ५ का पाँचवटा गाउँब्लकको २ सय ५० घर धुरीलाई पुर्जा वितरण गरिएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
उनले लामो समयको पहल र मेहनत पछि सियारीबासीर्ला जग्गा पुर्जा हस्तान्तरण गर्न सकिएको बताए । लामो समय देखि जोत भोग गरेका जग्गा धनीले पुर्जा नपाउँदा कुनै पनि बैकिङ कारोवार गर्न नपाएका जग्गा धनीले अब आवश्यक परेको बेला बंैकिङ कारोवार गरी आफ्नो काम अगाडि बढाउन सहज हुने घिमिरेले बताए ।
२०२५ सालमा नापिमा छुटेका तर, शुरुको नापि हुँदा देखि नै जोतभोग गरेपनि लालपुर्जा नपाएका नागरिकलाई जग्गा धनी पुर्जा वितरण गरिएको हो । रुपन्देहीमा १ हजार ८०० गाउँँव्लकको नापि भएको मध्ये १ हजार १५० गाउँव्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिए । उनले सियारीमा १ सय १५ गाउँव्लक मध्ये ३५ बटा व्लकको मात्र वितरण गर्न बाँकी रहेको बताए ।
सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सियारीमा १ सय १५ गाउँ व्लक मध्ये ३५ वटाको मात्र वितरण गर्न बाँकी रहेकाले बाँकी रहेका गाउँ व्लकको पनि छिट्टै नै वितरण गर्ने गरी तयारी अगाडि बढाईएको बताए ।
जग्गा धनी पुर्जा पाएपछि स्थानीय दङ्ग छन् । उनीहरुले लामो समय पछि आफूहरु जग्गाको मालिक हुन पाउँदा निकै खुसी भएको बताएका छन् ।



