images
images

प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • 237
    SHARES
  • २०७९ चैत्र ३० गते बिहीबार

    प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । 

    अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इञ्जीनियर हिमालयसिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत  सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा महाकाली नदीको नदीजन्य पर्दाथ (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल)को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानुनी आर्थिकलाभ हुने गरी बदनियतपूर्ण ढङ्गले आर्थिकलाभ गराई राज्यलाई हानी–नोक्सानी पु¥याएको पुष्टि भएकाले मुद्दा दायर गरेको अख्तियारद्वारा जारी आरोपपत्रमा उल्लेख छ ।

    शुल्क उठाउने ठेक्कामा भीमदत्त नगरपालिकाले श्री भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरसँग ठेक्का सम्झौता गर्दा ५ करोड ४३ लाख बराबरको राजस्व  हानी–नोक्सानी गरेको उल्लेख गर्दै आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत उपाध्यायले १ करोड ९५ लाख ७२ हजार बराबरको नगरपालिकाको राजस्व चुहावट गरेको आरोपपत्रमा उल्लेख छ ।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएकाले भीमदत्त नगरपालिकाको तर्फबाट सम्झौता गर्ने भट्ट र सम्झौतापत्रको साक्षीमा रही हस्ताक्षर गर्ने उपाध्यायसँग १ करोड ९५ लाख ७२ हजार बिगो माग गरिएको छ । त्यसैगरी उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोब्बर जरिवानासमेत माग गरिएको छ ।

    आव २०७८÷७९ को भीमदत्त नगरपालिकाअन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा इञ्जीनियर ऐरको संयोजकत्वमा अधिकारी, भट्ट र चौधरी सदस्य रहेको समितिले खरिद एकाइ बैठकले करको कायम दररेटअनुसार बोलपत्र पुस्तिका तयार नगर्दा १ करोड ९५ लाख ७२ हजार बराबरको राजस्व चुहावट गरी सरकारी रकमको हानी–नोक्सानी भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

    उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुरबमोजिम १ करोड ९५ लाख ७२ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय माग गरिएको छ । उनीहरूले बोलपत्रसहितको प्रतिवेदन तयार गर्नुपर्नेमा सो नगरी बदनियतपूर्वक भए÷गरेका कुरा लुकाइछिपाइ खरिद प्रतिवेदन तयार गरी स्वीकृतिका लागि पेस गरेको आरोप छ ।

    यस्तै श्री भवानी कन्स्ट्रक्सन प्रालिका सञ्चालक ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट र कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दीवाकर भट्टले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा भीमदत्त नगरपालिकासँग सम्झौतामा फरक–फरक दररेट उल्लेख गरी आफूलाई आर्थिकलाभ हुने गरी सम्झौता गर्दा राजस्व चुहावटवापत १ करोड ९५ लाख ७२ हजार हानी–नोक्सानी भएको अख्तियारले जनाएको छ । 

    उनीहरूले भीमदत्त नगरपालिकासँग बैंक जमानत राखी सम्झौता गर्नुपर्नेमा सो नगरी सम्झौता गर्दा ३ कारोड ४७ लाख ५९ हजार नगरपालिकालाई प्रत्यक्ष हानी–नोक्सानी पुगेकाले कन्स्ट्रक्सनका सञ्चालक केशवराज र आधिकारिक प्रतिनिधि दीवाकरले राजस्व र जमानतसमेत गरी ५ करोड ४३ लाख ३१ हजार गैरकानुनी लाभ लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । भवानी कन्स्ट्रक्सन प्रालिसित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा ५ करोड ४३ लाख ३१ हजार बिगो माग गरिएको छ ।


    images
    images

    Logo