काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा कम्पनीलाई कारवाही गरेको छ । बैंकले ४ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनीलाई कर्जा निक्षेप अनुपात तोकिएको सीमामा कायम नगरेको भन्दै कारवाही गरेको हो ।
यसरी कारवाहीमा पर्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, जानकी फाइनान्स कम्पनी रहेका छन् ।
बैंकले ६ वटै कम्पनीलाई नगद जरिवाना सहित कारवाही गरेको छ । सवैभन्दा धेरै जरिवाना तिर्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । बैंकले असोज ३० लाख ५९ हजार ३ सय ४४ रुपैयाँ र कात्तिकमा २२ लाख ७७ हजार ३ सय २ रुपैयाँ जरिवाना तिरेको छ ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकले असोजमा १७ लाख ९३ हजार ६ सय ४७ रुपैयाँ र कात्तिकमा ३ लाख ३५ हजार ४ सय ७४ रुपैयाँ जरिवाना तिरेको छ भने नारायणी डेभलपमेन्ट बैंकले असोजमा ५ लाख ८ हजार २ सय रुपैयाँ र कात्तिकमा ३ लाख ४ हजार २ सय २९ रुपैयाँ तिरेको छ ।
त्यसैगरि सिन्धु विकास बैंकले असोजमा मात्रै नगद जरिवाना तिरेको छ । बैंकले ६ लाख ६२ हजार १ सय २१ रुपैयाँ जरिवाना तिरेको हो । त्यस्तै, नेपाल फाइनान्सले १ लाख ४९ हजार ३ सय ६४ रुपैयाँ र जानकी फाइनान्सले ८० हजार ९ सय ८५ रुपैयाँ जरिवाना तिरेका छन् ।



